काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग चर्कँदै गएको बेला कांग्रेस नेता प्रदीप पौडेलले विशेष महाधिवेशनले पार्टी विभाजन नभई विधि र विधानको शासन स्थापित गर्ने बताएका छन्।

विशेष महाधिवेशनका लागि भन्दै भृकुटीमण्डपमा हल बुकिङ गरिएको विषयमा प्रतिक्रिया दिँदै पौडेलले यो भेला केवल दबाब सिर्जना गर्न नभई विशेष महाधिवेशनकै तयारीका लागि गरिएको बताए। कांग्रेसको विधानमा स्पष्ट व्यवस्था भएकाले केन्द्रीय समितिले नै विशेष महाधिवेशन आयोजना गर्नुपर्ने उनको भनाइ छ।

ad

उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको प्रस्ताव तीन महिना अगाडि नै दर्ता भइसकेको स्मरण गराउँदै समयमा नियमित अधिवेशन अघि बढ्न नसक्दा प्रस्तावक पक्ष सक्रिय हुनुपरेको बताए। केन्द्रीय समितिले समयमै वैकल्पिक समाधान दिन नसक्दा अहिलेको अवस्था आएको उनको ठहर छ।

पार्टी विभाजनको आशंकालाई अस्वीकार गर्दै पौडेलले विधानको कार्यान्वयनलाई विभाजनसँग जोड्नु गलत हुने बताए। विधान पालना गर्नु नेतृत्वको दायित्व भएको उल्लेख गर्दै उनले वैधानिक प्रक्रिया अघि बढ्दा पार्टी थप वैध र संस्थागत हुने जिकिर गरे।

विशेष महाधिवेशनको मुख्य एजेन्डा नीतिगत स्पष्टता र नेतृत्व परिवर्तन दुवै हुन सक्ने भन्दै अन्तिम निर्णय महाधिवेशन प्रतिनिधिले गर्ने पौडेलले बताए। चुनाव नजिकिँदै गर्दा देखिएको यो विवाद समयमै सम्बोधन नगरेको परिणाम भएको उनको भनाइ छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै विशेष महाधिवेशन गर्दा धेरै समय नलाग्ने पनि उनले स्पष्ट पारे। चौधौँ महाधिवेशनकै प्रतिनिधिबाट प्रक्रिया अघि बढ्ने भएकाले यसले चुनावी गतिविधिमा गम्भीर असर नपार्ने उनको दाबी छ।

पौडेलले समाधानका दुई मात्रै विकल्प रहेको बताए—या त विशेष महाधिवेशन आयोजना गर्ने, या त प्रस्तावक पक्षलाई विश्वसनीय राजनीतिक विकल्प दिएर प्रस्ताव फिर्ता गराउने। विशेष महाधिवेशनको मागलाई बेवास्ता गरेर समस्या समाधान नहुने उनको निष्कर्ष छ।