काठमाडौँ । नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर विवाद चर्किँदै गएपछि सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाए पनि उनीहरू छलफलमा सहभागी भएनन्।

सभापति देउवाले बिहीबार साँझ ५ बजे आफ्नै निवास महाराजगञ्जमा महामन्त्रीद्वयलाई छलफलका लागि बोलाएका थिए। यसअघि उनले बिहीबार बिहान उपसभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग छलफल गरेका थिए।

ad

देउवासँगको भेटपछि नेता लेखकले नियमित महाधिवेशन तोकिसकेपछि विशेष महाधिवेशनमा जाने अवस्था नरहेको बताए। उनले महाधिवेशनसम्बन्धी विवाद समाधानका लागि सभापतिले महामन्त्रीद्वयसँग छलफल गर्न चाहेको जानकारी दिए।

नियमित महाधिवेशन तोकिएपछि विशेष महाधिवेशनको आवश्यकता नरहेको उल्लेख गर्दै लेखकले सभापतिले नै नियमित महाधिवेशनको मिति तोक्नुपर्ने बताए। क्रियाशील सदस्यता वितरणको जिम्मेवारी सभापतिले मात्रै लिन नसक्ने पनि उनले बताए।

यता विशेष महाधिवेशन पक्षधर नेताहरूले भने तयारीलाई अघि बढाएका छन्। कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बिहीबार पुस २७ र २८ गतेका लागि ‘हल बुकिङ’ गरिएको जानकारी दिए।

यसअघि गत असोज २९ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन बोलाउन प्रस्ताव दर्ता गरिएको थियो। कांग्रेस विधानअनुसार प्रस्ताव दर्ता भएको तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने व्यवस्था छ।

यद्यपि, गत मंसिर १५ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत रूपमा पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर निर्धारित समयमा नियमित महाधिवेशन नहुने निश्चित भएपछि विशेष महाधिवेशनको विषय पुनः बहसमा आएको छ।