काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको घोषित नियमित महाधिवेशन स्थगित भएको बताएका छन्। उनीहरूले अब कांग्रेस विशेष महाधिवेशनतर्फ जाने स्पष्ट पारेका छन्।

महामन्त्रीद्वयले जारी गरेको विज्ञप्तिमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको माग सम्बोधन गर्ने पहिलो विकल्प नियमित महाधिवेशन नै भएको उल्लेख गरे। तर निर्धारित समयमै नियमित महाधिवेशन सम्पन्न गर्न नसकिने अवस्था बनेपछि त्यो विकल्प असफल भएको बताएका छन्।

ad

विज्ञप्तिमा नियमित महाधिवेशन तोकिएको समयमा हुन नसक्ने स्थिति सिर्जना भएपछि विशेष महाधिवेशन नै स्वाभाविक विकल्पका रूपमा अघि आएको उल्लेख गरिएको छ।

पार्टी विधानको दफा १७(२) अनुसार विशेष महाधिवेशनसम्बन्धी माग सम्बोधन गर्ने जिम्मेवारी केन्द्रीय कार्यालयको भएको भन्दै महामन्त्रीद्वयले सो प्रावधानअनुसार आवश्यक प्रक्रिया अघि बढाइने बताएका छन्। सम्भव भएसम्म ती सबै कामहरू कार्यसम्मतिका आधारमा अघि बढाइने पनि उनीहरूले स्पष्ट पारेका छन्।