
नेपाली कांग्रेसभित्रको शक्ति संघर्षले नयाँ मोड लिएको छ। संस्थापन पक्ष र इतर पक्षबीचको रस्साकस्सीका बीच महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशनको कार्यतालिका स्थगित भएको घोषणा गर्दै 'विशेष महाधिवेशन'को नयाँ राजनीतिक एजेन्डा अघि सारेका छन्।
बिहीबार साँझ एक संयुक्त विज्ञप्ति जारी गर्दै महामन्त्रीद्वयले मंसिर १५ को केन्द्रीय समिति बैठकले तय गरेको नियमित महाधिवेशनको कार्यतालिका अब सान्दर्भिक नरहेको स्पष्ट पारेका हुन्।
विज्ञप्तिमा उल्लेख भएअनुसार, प्राविधिक र राजनीतिक तयारीको अभावका कारण निर्धारित समयमा नियमित महाधिवेशन सम्भव नदेखिएपछि यसलाई स्थगित गरिएको हो। यसअघि बसेको केन्द्रीय कार्यसमितिको बैठकले तय गरेका तालिकाहरू अब आगामी बैठकबाट औपचारिक रूपमै खारेज वा संशोधन हुने संकेत दिइएको छ।
थापा र शर्माले नियमित महाधिवेशन टर्नुलाई संकटका रूपमा भन्दा पनि अवसरका रूपमा व्याख्या गरेका छन्। उनीहरूले अबको एक मात्र निकास 'विशेष महाधिवेशन' भएको दाबी गरेका छन्।
"नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी यसै सूचना मार्फत स्थगित गरिएको जानकारी गराइन्छ," विज्ञप्तिमा भनिएको छ।










Facebook Comments