
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान परिस्थितिमा पार्टीको विशेष महाधिवेशनको कुनै औचित्य नरहेको स्पष्ट पारेका छन् । बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै उनले नियमित महाधिवेशनका लागि नै आवश्यक समय र तयारी नपुगेको अवस्थामा विशेष महाधिवेशनको माग व्यावहारिक नहुने बताए ।
प्रवक्ता महतले वर्तमान सभापति शेरबहादुर देउवा विधानअनुसार पुनः सभापतिमा उम्मेदवार बन्न नसक्ने भएकाले नेतृत्व परिवर्तनका नाममा हतार गरेर विशेष महाधिवेशन बोलाउनुपर्ने अवस्था नरहेको जिकिर गरे । पार्टीभित्र अनावश्यक प्रतिस्पर्धा र विवाद सिर्जना गर्नु उपयुक्त नभएको उनको भनाइ छ ।
उनले अबको डेढ–दुई महिनाभित्र आम निर्वाचन नजिकिँदै गएको उल्लेख गर्दै कांग्रेसको सम्पूर्ण ध्यान निर्वाचन तयारीमा केन्द्रित हुनुपर्ने बताए । निर्वाचनको ठीक अघि महाधिवेशन गर्दा गुटबन्दी बढ्ने र संगठन कमजोर हुने भएकाले अहिले एकताबद्ध भएर चुनावमा होमिनु नै पार्टीको हितमा रहेको उनले बताए ।
प्रवक्ता महतका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको महाधिवेशन सम्भव छैन । क्रियाशील सदस्यता विवाद टुंगिन नसक्दा मतदाता नामावली नै तयार हुन नसकेको र त्यसै कारण महाधिवेशन प्रक्रिया अघि बढ्न नसकेको उनले स्पष्ट पारे ।
क्रियाशील सदस्यता व्यवस्थापनमा देखिएका प्राविधिक र प्रक्रियागत समस्याका कारण अहिले महाधिवेशन असम्भव बनेको बताउँदै उनले निर्वाचनपछि ती सबै विषय टुंग्याएर छिटोभन्दा छिटो महाधिवेशन गर्नुपर्ने धारणा राखे ।
प्रवक्ता महतले आम निर्वाचनमा पार्टीलाई मजबुत बनाउँदै जनमत हासिल गर्नु नै तत्कालीन प्राथमिकता भएको उल्लेख गर्दै निर्वाचन सम्पन्न भएपछि मात्र नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गर्नु उपयुक्त हुने निष्कर्ष प्रस्तुत गरे ।










Facebook Comments