काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारको प्रमुख लक्ष्य सुशासनको जग बसाल्नु र फागुन २१ गते तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु रहेको बताइन्। त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको उनले स्पष्ट पारिन्।

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले राजनीतिक स्थिरता र विश्वास कायम नगरी देशको समग्र विकास सम्भव नहुने बताइन्। समयमै निर्वाचन सम्पन्न गर्नु सरकारको पहिलो प्राथमिकता भएको उनले भनिन्।

ad

अघिल्ला राजनीतिक परिवर्तनले आमनागरिकको रोजगारी, आयआर्जन र जीवनस्तरमा अपेक्षित सुधार ल्याउन नसकेको स्वीकार गर्दै उनले राजनीतिक परिवर्तनसँगै नेतृत्वको व्यवहारमा पनि सुधार हुन नसकेको बताइन्।

जेनजी आन्दोलनका क्रममा देशले करिब ८४ अर्ब रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले शान्ति, कानुनी शासन र संयम अपरिहार्य रहेको बताइन्। आगामी निर्वाचन सफल बनाउन सबै राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले बताइन्।

प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको सुरक्षाका लागि सरकारले केही महत्वपूर्ण कदम चालिसकेको जानकारी दिइन्। कर तिर्ने समय थप गरिएको, सूचना प्रविधि कम्पनीलाई विदेशमा लगानी गर्न मार्ग खोलिएको र जग्गा कित्ताकाट प्रक्रिया सहज बनाइएको उनले बताइन्। कालोसूचीमा परेका कम्पनीलाई समेत कानुनी दायराभित्र रहेर बाह्य लगानी ल्याउन सहजीकरण गरिने व्यवस्था गरिएको जानकारी पनि उनले दिइन्।

निजी क्षेत्रले चुनौतीका बाबजुद पनि अर्थतन्त्र चलाइरहेको उल्लेख गर्दै उनले सरकार निजी क्षेत्रका समस्या सुन्न र समाधान खोज्न तयार रहेको बताइन्। कानुन परिवर्तन गर्ने अधिकार सरकारसँग नभए पनि उपलब्ध संरचनाभित्र रहेर सुधारको प्रयास भइरहेको उनले भनिन्।

निजी तथा सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको दोहोर्‍याउँदै प्रधानमन्त्री कार्कीले राज्य र निजी क्षेत्रबीचको सहकार्यबाट मात्रै आर्थिक पुनरुत्थान सम्भव हुने बताइन्। शान्ति, स्थायित्व र समृद्धिलाई साझा राष्ट्रिय एजेन्डाका रूपमा अघि बढाउन सबै पक्षलाई उनले आह्वान गरिन्।