काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूची परिमार्जन गर्ने निर्णय गरेको छ। पार्टी सचिवालयले जारी गरेको सूचनामा सरोकारवाला पक्षबाट आएका सुझाव र प्रतिक्रियालाई आधार मानेर सूचीमा देखिएका कमजोरी सच्याइने जनाएको छ।

रास्वपाका अनुसार राजनीतिक संवाद र आन्तरिक छलफलको क्रममै सूची तयार पार्नुपर्दा समय अभावका कारण केही त्रुटि हुन पुगेका थिए। ती त्रुटिलाई स्वीकार गर्दै पार्टीले कानुनी प्रक्रिया र निर्वाचन आयोगले तोकेको समयसीमाभित्रै बन्दसूची संशोधन गर्ने तयारी थालेको स्पष्ट पारेको छ।

ad

पार्टीले समानुपातिक निर्वाचन प्रणालीको मूल भावना अनुसार समावेशी सिद्धान्तलाई प्राथमिकतामा राखेर सूची परिमार्जन गरिने जनाएको छ। अन्तिम सूची पार्टीको नीति, मूल्य र निर्णयअनुसार टुंग्याइने र त्यसले प्रतिनिधित्वको सन्तुलन सुनिश्चित गर्ने रास्वपाको दाबी छ।

समानुपातिक सूची सच्याउने निर्णयसँगै पार्टीले आन्तरिक समन्वय र पारदर्शितालाई अझ मजबुत बनाउने संकेत गरेको विश्लेषण गरिएको छ।