
महोत्तरी । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफू पदको मर्यादाभन्दा पनि मधेसको हितका लागि समर्पित सिपाहीका रूपमा काम गरिरहेको बताएका छन्।
धनुषा होटल तथा पर्यटन व्यवसायी संघ, मधेस प्रदेशले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले मधेसको राजनीतिलाई लिएर पछिल्लो समय बनेका नकारात्मक टिप्पणी र छाप चिर्ने उद्देश्यसहित आफू जिम्मेवारीमा आएको स्पष्ट पारे।
'यहाँ रातारात जे पनि हुन सक्छ,' मुख्यमन्त्री यादवले भने, 'म दिन गनेर बसेको छैन। जिम्मेवारी सम्हालेको दिनदेखि नै सिपाही भएर काम गरिरहेको छु र गरिरहन्छु।' उनले हरेक मिनेटको सदुपयोग गरेर काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे।
सबै राजनीतिक शक्ति र समाजका सरोकारवाला मिलेर अघि बढ्न सके पाँच वर्षभित्र नेपाललाई स्विजरल्यान्डभन्दा राम्रो बनाउन सकिने दाबी गर्दै यादवले विकासका लागि सहकार्य अपरिहार्य भएको बताए।
राजनीतिक अस्थिरताका कारण अघिल्ला मुख्यमन्त्रीहरूले अपेक्षित काम गर्न नसकेको उल्लेख गर्दै उनले आफूले पनि सबैको साथ र सहयोगबिना सफलता हासिल गर्न नसक्ने स्वीकार गरे।
मुख्यमन्त्री यादवले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई हालको प्रमुख प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए। साथै, मधेसमा पर्यटनको ठूलो सम्भावना हुँदाहुँदै पनि पर्यटक भित्र्याउन नसकिएकोप्रति चिन्ता व्यक्त गरे।
स्थिर सरकारको अभाव र प्रदेशस्तरबाट आवश्यक स्वामित्व नलिँदा पर्यटन विकासमा पछि परेको उल्लेख गर्दै उनले मधेसको पर्यटकीय सम्भावना पहिचान गरी अघि बढ्न प्रदेशस्तरीय पर्यटन बोर्ड गठनका लागि गृहकार्य थाल्ने प्रतिबद्धता होटल तथा पर्यटन व्यवसायीसमक्ष व्यक्त गरे।










Facebook Comments