काठमाडौं । अर्थमन्त्री डा. रामेश्वर खनालले निजी क्षेत्रले सिर्जना गरेको सम्पत्ति केवल लगानीकर्ताको मात्र नभई सम्पूर्ण राष्ट्रको सम्पत्ति भएको बताएका छन्। निजी क्षेत्रमा हुने क्षतिले राज्यलाई नै प्रत्यक्ष असर पार्ने भन्दै उनले निजी क्षेत्रको संरक्षण र मनोबल उच्च राख्नु राज्यको साझा दायित्व भएको स्पष्ट पारे।

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा बुधबार काठमाडौंमा भएको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सामूहिक पहल कार्यक्रममा बोल्दै मन्त्री खनालले निजी क्षेत्रको योगदानलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा व्याख्या गरे। निजी क्षेत्रले कमाएको नाफा रोजगारी, कर र सेवामार्फत समाजका विभिन्न तहमा वितरण हुने भए पनि आन्दोलनका बेला निजी क्षेत्र नै पटक–पटक निशानामा पर्ने गरेकोप्रति उनले चिन्ता व्यक्त गरे।

ad

अर्थमन्त्री खनालले हाल अर्थतन्त्रका केही आधारभूत सूचक सकारात्मक अवस्थामा रहेको उल्लेख गरे। मूल्यवृद्धि न्यून हुनु, बैंकिङ प्रणालीमा पर्याप्त तरलता, ब्याजदर घट्नु र विदेशी मुद्राको सञ्चिति सन्तोषजनक अवस्थामा रहनुलाई उनले सकारात्मक संकेतका रूपमा उल्लेख गरे। तर, यी सूचक सकारात्मक हुँदाहुँदै पनि लगानी वृद्धिको गति कमजोर रहनु चिन्ताजनक भएको उनको भनाइ छ।

निजी क्षेत्रले पुनः उठ्ने प्रतिबद्धता जनाइरहे पनि लगानीकर्ताको मनोबल अझै पूर्ण रूपमा फर्किन नसकेको मन्त्री खनालले बताए। उनले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रमा पुगेको क्षतिपछि सरकारले सरोकारवालासँग निरन्तर संवाद गर्दै आएको जानकारी दिए।

निजी क्षेत्रले ‘खरानीबाट फेरि उठ्छौं’ भन्ने सन्देश दिँदै आएको उल्लेख गर्दै अर्थमन्त्री खनालले शान्ति, स्थायित्व र विश्वासको वातावरण बने मात्र अर्थतन्त्रले अपेक्षित गति लिने विश्वास व्यक्त गरे।