
काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर विवाद पुनः चर्किएको छ। नियमित महाधिवेशनको तय कार्यतालिका प्रभावित भएपछि पार्टी नेतृत्व र महामन्त्रीद्वयबीच विशेष महाधिवेशन आह्वान गर्ने विषयमा मतभेद खुल्दै गएको हो।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन समयमै हुन नसक्ने अवस्था बनेपछि पुस २६ देखि २८ गतेसम्म विशेष महाधिवेशन बोलाउने तयारी अघि बढाएका छन्। महामन्त्री थापाले आफूहरू विधानअनुसार विशेष महाधिवेशनको प्रक्रियामा अघि बढिसकेको स्पष्ट पारेका छन्।
थापाले सामाजिक सञ्जालमार्फत पुस मसान्तभित्र विशेष अधिवेशन गर्नु पार्टीका लागि बाध्यकारी र आवश्यक भइसकेको उल्लेख गरेका छन्। पार्टीभित्रको एकता, आत्मविश्वास र संस्थागत प्रक्रियालाई जोगाउन विशेष महाधिवेशन अपरिहार्य भएको उनको भनाइ छ। उनले यस अभियानमा सम्पूर्ण पार्टीपंक्तिलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।
महामन्त्रीद्वयले यसअघि बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्दै नेतृत्वसमक्ष निवेदन बुझाएका थिए। तर संस्थापन पक्ष भने विशेष महाधिवेशनको विपक्षमा देखिएको छ। पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनअघि महाधिवेशन सम्भव नरहेको बताउँदै कांग्रेस विशेष महाधिवेशनको बाटोमा नजाने स्पष्ट पारेका छन्।
उनका अनुसार कार्यतालिका बनाउँदा नै समयको दबाबबारे जानकारी गराइएको थियो र अहिलेको परिस्थितिमा चुनावअघि कुनै पनि प्रकारको महाधिवेशन सम्भव छैन। नियमित महाधिवेशन हुनुपर्ने बेलामा विशेष महाधिवेशनको कुरा उठाउनु उपयुक्त नहुने उनको धारणा छ।
पार्टीभित्र महाधिवेशन नहुने संकेत देखिएपछि महामन्त्री पक्षले आन्तरिक तयारी तीव्र पारेको एक नेताले बताएका छन्। उनका अनुसार कार्यतालिकामार्फत अल्झाउने प्रयास भइरहेको ठहर गर्दै महामन्त्रीद्वयले विधानले दिएको अधिकार प्रयोग गरेर विशेष महाधिवेशन आह्वान गर्ने निर्णयमा पुगेका हुन्।
सभापति शेरबहादुर देउवाले पनि निर्वाचनअघि विशेष महाधिवेशन नहुने अडान लिँदै आएका छन्। उनले विशेष महाधिवेशन गर्दा पार्टीभित्र विभाजन बढ्ने र त्यसको असर चुनावमा पर्ने तर्क गर्दै आएका छन्। देउवाले चुनावपछि महाधिवेशन गर्नु उपयुक्त हुने धारणा राख्दै आएका छन्।
महाधिवेशनको समय र स्वरूपलाई लिएर देखिएको यो मतभेदले कांग्रेसभित्रको आन्तरिक राजनीति थप पेचिलो बन्दै गएको छ।










Facebook Comments