
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष विक्रम पाण्डेले आगामी निर्वाचनमा ठूला दलहरूबीच चुनावी तालमेलको तयारी भइरहे पनि राप्रपा भने एक्लै मैदानमा उत्रिने स्पष्ट पारेका छन् ।
बुधबार काठमाडौंमा आयोजित राप्रपा र राप्रपा नेपालबीचको एकता समारोहलाई सम्बोधन गर्दै पाण्डेले कार्यगत एकतामार्फत चुनावी प्रतिस्पर्धामा जानु ठूला दलहरूको रणनीति भए पनि राप्रपाले आफ्नै पहिचान र एजेन्डासहित चुनाव लड्ने बताए । उनले राप्रपाको मार्गलाई महाभारतको प्रसंगसँग तुलना गर्दै सीमित शक्तिले पनि दृढ संकल्पका साथ ठूलो शक्तिलाई चुनौती दिन सकिने उल्लेख गरे ।
उनले राजावादी र राष्ट्रवादी धारलाई एकीकृत गर्दै पार्टीलाई थप बलियो बनाउने अहिलेको प्रमुख कार्यभार रहेको बताए । पाण्डेले विचार र सिद्धान्तमा विश्वास राख्ने शक्तिहरूलाई एउटै झण्डामुनि ल्याउन राप्रपाले सक्रिय पहल गर्नुपर्ने धारणा राखे ।
उक्त अवसरमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहमति पत्रमा हस्ताक्षर गर्दै औपचारिक रूपमा पार्टी एकताको घोषणा गरेका छन् ।
एकतासँगै पार्टीले आगामी दिनमा संगठन विस्तार र चुनावी तयारीलाई तीव्र बनाउने संकेत दिएको छ ।










Facebook Comments