
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि ६४ वटा राजनीतिक दलले ५८ वटा निर्वाचन चिह्नमार्फत समानुपातिकतर्फ बन्दसूची बुझाएका हुन् ।
आयोगले तोकेको कार्यतालिकाअनुसार पुस १३ र १४ गते बन्दसूची दर्ताको समयसीमा राखिएको थियो । सो अवधिमा बन्दसूची पेस गर्ने दलहरूमध्ये ५४ दलले आ–आफ्नै चुनाव चिह्न प्रयोग गरेका छन् भने १० वटा दलले ४ वटा साझा चुनाव चिह्न प्रयोग गर्दै निर्वाचनमा सहभागी हुने गरी सूची दर्ता गराएका छन् ।
संविधानको व्यवस्था अनुसार प्रतिनिधिसभाका २७५ सदस्यमध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन गरिनेछन् । समानुपातिकतर्फ सम्पूर्ण देशलाई एउटै निर्वाचन क्षेत्र मानी दललाई प्राप्त मतका आधारमा सिट बाँडफाँट हुने व्यवस्था छ ।
निर्वाचन आयोगले बन्दसूचीसम्बन्धी सबै प्रक्रिया प्रचलित कानुन र मापदण्डअनुसार अघि बढाइने जनाएको छ । आयोगका अनुसार समानुपातिक प्रणालीको मूल उद्देश्य समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नु भएकाले दलहरूले विभिन्न जाति, क्षेत्र, लिङ्ग र समुदायको प्रतिनिधित्व हुने गरी उम्मेदवारहरू सूचीकृत गरेका छन् ।
आयोगले आगामी चरणमा बन्दसूचीको परीक्षण, दाबी–विरोध र अन्तिम सूची प्रकाशनलगायत प्रक्रिया सम्पन्न गरिने जानकारीसमेत दिएको छ ।










Facebook Comments