
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ आबद्ध उज्यालो नेपाल पार्टीबीच भएको एकताप्रति पहिचानवादी नेताहरूले असन्तुष्टि जनाएका छन् । कोशी प्रदेशको पहिचान आन्दोलनका अगुवा डकेन्द्रसिंह थेगिमले उक्त निर्णयले पहिचानको मुद्दा ओझेलमा पर्ने खतरा रहेको बताएका छन् ।
पहिचानको एजेन्डालाई मूल आधार बनाएर राजनीति गर्दै आएका थेगिमले पार्टी विलयको निर्णय अप्रत्याशित भएको प्रतिक्रिया दिएका हुन् । उनका अनुसार उज्यालो नेपाल र रास्वपाबीच चुनावी सहकार्य र गठबन्धनसम्मको मात्रै छलफल भएको थियो, पार्टी नै विलय गर्ने विषयमा कुनै पूर्वजानकारी थिएन ।
‘हामी कुलमानजीसँग पहिचानको मुद्दा स्वीकार गर्ने सर्तमा सहकार्यमा थियौं,’ थेगिमले भने, ‘तर रास्वपासँग पार्टी विलय गर्ने कुरा भएको थिएन । अचानक एकताको घोषणा आयो, यसबारे हामीलाई जानकारी नै दिइएन ।’
उनले संघीयता, लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक प्रणालीजस्ता आधारभूत विषयमा रास्वपासँग के सहमति भयो भन्ने स्पष्ट नभएको प्रश्न उठाए । उज्यालो नेपालको घोषणापत्रमा समेटिएका पहिचान, सामुदायिक समाजवाद र बहुसंस्कृतिवादका मुद्दा अहिलेको एकतामा कतै नदेखिएको उनको भनाइ छ ।
थेगिमका अनुसार पहिचानको आन्दोलनबाट आएका शक्तिहरू ठूलो दलमा विलय हुँदा ती मुद्दा कति अगाडि बढ्छन् भन्ने टुंगो छैन । यही एकता प्रक्रियाप्रति राजनीतिक विश्लेषक डा. महेन्द्र लावतीले पनि असहमति जनाएको उनले उल्लेख गरे ।
इलामको उपनिर्वाचनमा थेगिमले ११ हजार ४५७ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका थिए । २०७९ फागुन १७ मा प्रदेश सभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि सुरु भएको पहिचान आन्दोलन अझै जारी रहेको दाबी पहिचानवादीहरूले गर्दै आएका छन् ।
आन्दोलनकै संयोजक रहेका थेगिम उज्यालो नेपालको केन्द्रीय सदस्य बनेका थिए । तर पार्टी नै रास्वपामा विलय भएपछि उनी राजनीतिक र नैतिक संकटमा परेको देखिन्छ ।
‘अब के गर्ने भन्ने विषयमा आन्तरिक छलफल चलिरहेको छ,’ थेगिमले भने, ‘पहिचान र अस्तित्व मेटिने गरी गरिने एकता स्वीकार्य हुँदैन ।’










Facebook Comments