
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेता अर्जुननरसिंह केसीलाई समानुपातिक उम्मेदवारको सूचीमा राखिएको विषयमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका छन् । उनले उक्त निर्णय आफ्नो चाहना र प्रयासविपरीत भएको दाबी गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक प्रतिक्रिया दिँदै थापाले अर्जुननरसिंह केसीलाई आफ्नै दबाब वा पहलमा सूचीमा समावेश गरिएको भन्ने हल्ला निराधार भएको बताएका हुन् । ‘मेरो अनुरोध र हरसम्भव प्रयास हुँदाहुँदै पनि त्यो निर्णय भएको हो,’ उनले उल्लेख गरेका छन् ।
अर्जुननरसिंह केसी थापाका ससुरा भए पनि पारिवारिक सम्बन्धका आधारमा राजनीतिक निर्णय हुने वा गरिनुपर्ने मान्यतासँग आफू सहमत नभएको उनले प्रस्ट पारे । थापाले पार्टीभित्र विचार, एजेन्डा र राजनीतिक धारणा फरक–फरक हुन सक्ने उल्लेख गर्दै यसअघि महामन्त्री पदका लागि पनि फरक दृष्टिकोणसहित प्रतिस्पर्धा गरेको स्मरण गराए ।
समानुपातिक सूची सार्वजनिक भएसँगै उठेको आलोचना र चर्चा बीच थापाको यो स्पष्टीकरण आएको हो । पार्टीभित्र निर्णय प्रक्रियालाई लिएर बहस चलिरहेका बेला उनले व्यक्तिगत नाताका आधारमा निर्णय भएको भन्ने आरोपलाई अस्वीकार गर्दै राजनीतिक विषयलाई राजनीतिक रूपमा नै बुझिनुपर्ने बताएका छन् ।










Facebook Comments