काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशको शान्ति, स्थायित्व र आर्थिक समृद्धिलाई केन्द्रमा राख्दै सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना गर्ने भएको छ । महासंघको आयोजनामा बुधबार ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रम हुने जनाएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा हुने संवादमा प्रमुख राजनीतिक दलका प्रतिनिधि, निजी क्षेत्र, युवा पुस्ता (जेनजी), नागरिक समाज तथा सञ्चार क्षेत्रका अगुवा सहभागी हुनेछन् । कार्यक्रममार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी प्रवर्द्धन र युवाको भूमिकाबारे साझा समझदारी विकास गर्ने लक्ष्य राखिएको महासंघले जनाएको छ ।

ad

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक पुनरुत्थानका लागि शान्ति र स्थायित्व अपरिहार्य भएको उल्लेख गर्दै राष्ट्रिय हितका मुद्दामा साझा धारणा निर्माण गर्ने उद्देश्यले संवाद आयोजना गरिएको बताए । “राजनीतिक स्थायित्व, स्पष्ट नीतिगत दिशा र विश्वासयोग्य वातावरणबिना लगानी सम्भव हुँदैन,” उनले भने, “त्यसैले सबै सरोकारवालालाई एउटै मञ्चमा ल्याएर संवाद र सहकार्यको वातावरण बनाउन महासंघले यो पहल गरेको हो।”

अध्यक्ष ढकालले निजी क्षेत्रलाई समृद्धिको प्रमुख साझेदारका रूपमा उल्लेख गर्दै युवाको ऊर्जा उद्यम, नवप्रवर्तन र उत्पादनशील क्षेत्रमा परिचालन गर्न सकिए अर्थतन्त्रलाई नयाँ गति दिन सकिने धारणा राखे ।

संवादले सरकार, राजनीतिक दल, निजी क्षेत्र र युवाबीच विश्वास अभिवृद्धि गर्दै दीर्घकालीन आर्थिक विकासका लागि साझा कार्यदिशा तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । महासंघले शान्ति सुव्यवस्था, लगानीमैत्री वातावरण र निजी क्षेत्रको मनोबल उच्च राख्ने उद्देश्यले निरन्तर छलफल र पैरवी गर्दै आएको बताइएको छ । यसअघि महासंघले ‘राष्ट्रिय आर्थिक बहस २.०’ आयोजना गरी आर्थिक मुद्दामा व्यापक विमर्श गरेको थियो ।