
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शक्तिशाली राजनीतिक शक्तिसँग सामना गर्न कमजोर शक्तिहरूले एकताको सहारा लिनु स्वाभाविक भएको बताएका छन् । उनले विभिन्न दलबीच देखिएको एकता प्रयासलाई विशाल एमालेसँग प्रतिस्पर्धा गर्न गरिएको रणनीति भएको टिप्पणी गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एमालेको ११औँ महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष ओलीले भने, “बलियासँग लड्नका लागि दुब्लाले गर्ने भनेकै एकता हो । विशाल एमाले देखेपछि तिमी–मिलौं, उसँग पनि मिलौं भन्ने स्थिति बनेको छ ।”
राजनीतिक गठबन्धनप्रति व्यंग्य गर्दै ओलीले साना र कमजोर शक्तिको मोर्चाले बलियो शक्तिलाई चुनौती दिन नसक्ने संकेत गरे । उनले कुखुरा, बाख्रा र स्यालको उदाहरण दिँदै भने, “कुखुरा र बाख्राले मोर्चा बनाएर, स्यालले साथ दिएर बाघ र सिंहसँग प्रतिस्पर्धा गर्न सकिँदैन । दुब्लाको काम नै मोर्चा बनाउने हो ।”
चुनावअगावै प्रधानमन्त्रीको दाबी गर्नेहरूतर्फ संकेत गर्दै ओलीले जनताले कसलाई लोकप्रिय ठान्छन् भन्ने विषयको निर्णय अन्ततः निर्वाचनले गर्ने बताए । “प्रधानमन्त्री बनाइसकेको जस्तो गरेर हिँड्नेहरू छन्,” उनले भने, “हामी चुनाव पर्खिरहेका छौँ । फागुन २१ मा हुन्छ कि बैशाखमा, वा अर्को मंसिरमा—जनताको फैसला त्यही बेला हुनेछ ।”
अध्यक्ष ओलीले एमालेको महाधिवेशनले पार्टीलाई आगामी राजनीतिक प्रतिस्पर्धाका लागि तयार बनाएको उल्लेख गर्दै जनताको समर्थनमार्फत सबै आरोप र दाबीको जवाफ दिइने स्पष्ट पारे ।










Facebook Comments