
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर तथा नेकपा एमालेकी नवनिर्वाचित केन्द्रीय सदस्य सुनिता डंगोलले पुस्तान्तरणलाई केवल उमेरका आधारमा पद सुम्पिने प्रक्रियाका रूपमा बुझ्नु गलत हुने बताएकी छन् । पुस्तान्तरण भनेको आमाबुवाले छोराछोरीलाई अंश दिएझैँ एक पुस्ताले अर्को पुस्तालाई स्थान छोडिदिने विषय मात्र नभई ज्ञान, सीप, अनुभव र विचारको समग्र हस्तान्तरण भएको उनको धारणा छ ।
मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीमा बोल्दै डंगोलले पुस्तान्तरणको सही अर्थ स्पष्ट पारिन् । उनले भनिन्, '६० वर्षको व्यक्तिले २० वर्षकोलाई म हटेँ अब तिमी आऊ भन्नु मात्र पुस्तान्तरण होइन । त्यहाँ नलेज ट्रान्सफर, स्किल ट्रान्सफर, इन्फर्मेसन, विचार र सिद्धान्तको हस्तान्तरण हुनैपर्छ ।'
व्यक्तिलाई हटाएर अर्को व्यक्तिलाई ल्याउने प्रक्रियालाई मात्र पुस्तान्तरण ठानिए त्यसले भविष्यमा अर्को ‘दुर्घटना’ निम्त्याउन सक्ने चेतावनी दिँदै डंगोलले पार्टीभित्र विभिन्न उमेर समूहबीच सिकाइ र अनुभव साटासाटको वातावरण आवश्यक रहेको बताइन् । गुरु–शिष्य परम्पराझैँ पार्टीभित्र पनि पुस्ताबीच निरन्तर संवाद र मार्गदर्शन भए मात्र वास्तविक पुस्तान्तरण सम्भव हुने उनको भनाइ थियो ।
एमालेको ११औँ महाधिवेशनले युवाको चाहना र भावना बुझेर व्यवहारमै सम्बोधन गरेको दाबी गर्दै डंगोलले ‘अन्डर–४०’ क्लस्टरमार्फत युवालाई केन्द्रीय नेतृत्वसम्म पुर्याइएको उल्लेख गरिन् । 'युवालाई राजनीतिमा ल्याउने कुरा धेरैले बोले, तर एमालेले त्यसलाई व्यवहारमा उतार्यो,' उनले भनिन्, 'प्रतिनिधि छनोटदेखि नेतृत्व चयनसम्म युवाको सहभागिता सुनिश्चित गरियो, म स्वयं त्यही प्रक्रियाबाट निर्वाचित भएँ।'
उनले यो अभ्यास एमालेका लागि मात्र नभई अन्य दलहरूका लागि पनि उदाहरणीय भएको बताउँदै राजनीतिमा उमेरभन्दा पनि ज्ञान, सीप, ऊर्जा र नेतृत्वदायी क्षमता महत्वपूर्ण हुने धारणा राखिन् । 'उमेरले मात्र युवा भएर हुँदैन,' डंगोलले भनिन्, 'देशलाई निरन्तर योगदान दिन ज्ञान, सीप, ऊर्जा र क्षमता चाहिन्छ।'
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आफ्नो लागि धेरै हिसाबले पहिलो अनुभव भएको उल्लेख गर्दै डंगोलले प्रतिनिधि, उम्मेदवार र केन्द्रीय सदस्यका रूपमा प्राप्त अनुभवले आफूलाई थप परिपक्व र ऊर्जावान बनाएको बताइन् । देशभरका प्रतिनिधिसँगको भेटघाटले नेपालको भूगोल र समाज बुझ्ने अवसर मिलेको भन्दै उनले महाधिवेशनलाई ‘मिनी नेपाल’ अनुभूतिको संज्ञा दिइन् ।
गोष्ठीमा डंगोलले मदन भण्डारी र जीवराज आश्रितले पार्टी र लोकतन्त्रमा पुर्याएको योगदानको स्मरण गर्दै आजको सन्दर्भमा मार्क्सवादलाई समयअनुकूल बुझेर नीति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइन् । साथै, राष्ट्रको अस्तित्व जोगाउन राष्ट्रवादी चिन्तन, योजना र व्यवहारसहित ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यलाई व्यवहारमा उतार्नुपर्नेमा उनले जोड दिइन् ।










Facebook Comments