
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गते आफू र पत्नीमाथि भएको आक्रमणका बेला नेपाली सेना र जेन–जी समूहले नै उद्धार गरेर जोगाएको दाबी गरेका छन् । जेन–जी आन्दोलनमा घुसपैठ भएको उल्लेख गर्दै देउवाले उद्धारका लागि आएको सेनाको हेलिकप्टरलाईसमेत अवतरण गर्न नदिइएको बताए ।
मंगलबार पत्रकारहरूसँगको भेटघाटमा देउवाले आक्रमण अप्रत्याशित रहेको बताए । 'घरमै बसिरहेको बेला चारैतिरबाट घेरेर आक्रमण भयो, यस्तो होला भन्ने कल्पनै थिएन,' उनले भने, 'त्यो अवस्थामा नेपाली सेना र जेन–जीले नै मलाई बचाएका हुन् । उद्धारका लागि आएको हेलिकप्टरलाई बदमासहरूले ल्यान्ड गर्नसमेत दिएनन्।'
देउवाले जेन–जी आन्दोलनका क्रममा कांग्रेस र एमाले लक्षित आक्रमण भएको दाबी गरे । उनले कांग्रेसका नेता तथा पार्टी कार्यालयमा सबैभन्दा धेरै क्षति पुगेको र त्यसपछि एमाले प्रभावित भएको बताए । 'हाम्रोभन्दा माओवादीको क्षति केही कम देखियो,' देउवाले भने, 'तर राजावादी र रास्वपाका नेताका घरहरूमा भने क्षति भएको देखिएन।'
पार्टीको आन्तरिक राजनीतिबारे बोल्दै देउवाले १५औँ महाधिवेशन निर्वाचनअगाडि गरिँदा प्रतिस्पर्धाको असर पर्ने भन्दै आफूले पहिलेदेखि नै सचेत गराउँदै आएको बताए ।
महाधिवेशन गर्न चाहनेहरूको मनसाय भए आफूले नरोकेको उल्लेख गर्दै उनले नियमित महाधिवेशनकै तालिका आइसकेकाले विशेष महाधिवेशनतर्फ नलाग्न सुझाव दिएको बताए ।
सभापति देउवाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू प्रत्यक्षतर्फ उम्मेदवार बन्ने स्पष्ट पारे ।










Facebook Comments