काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवार सूचीमा वर्तमान राष्ट्रपति र पूर्वराष्ट्रपतिका सन्तानसमेत समेटिएको छ । पार्टीको बन्दसूची सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा वंशगत पहुँच र अवसरको बहस सुरु भएको छ ।

कांग्रेसले बुझाएको सूचीअनुसार राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल समानुपातिकतर्फ उम्मेदवार बनेकी छन् । त्यस्तै, पूर्वराष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादवलाई पनि पार्टीले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूचीमा राखेको छ । चन्द्रमोहन यादव धनुषा जिल्लाबाट राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन् ।

ad

यसैगरी कांग्रेसले पार्टी नेता बलबहादुर केसीकी पत्नी रिना उप्रेतीलाई पनि समानुपातिक उम्मेदवारको रूपमा अघि सारेको छ । सोलुखुम्बुकी उप्रेतीलाई सूचीमा समेटिएको विषयले पार्टीभित्र र बाहिर दुवै ठाउँमा चर्चा पाएको छ ।

कांग्रेस नेतृत्वले समानुपातिक सूची समावेशीता, सामाजिक प्रतिनिधित्व र राजनीतिक योगदानका आधारमा तयार गरिएको दाबी गरे पनि उच्च पदस्थ नेताका परिवारका सदस्यहरू प्राथमिकतामा परेको भन्दै आलोचना पनि उठ्न थालेको छ । 

समानुपातिक प्रणालीमार्फत संसद्‌मा विविध वर्ग, समुदाय र पृष्ठभूमिका व्यक्तिलाई अवसर दिने उद्देश्य रहेकाले सूचीको अन्तिम रूप सार्वजनिक भएपछि थप बहस चर्किने संकेत देखिएको छ ।