
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीले पार्टीभित्रै बहस र असन्तोष जन्माएको छ ।
मोबाइल एपमार्फत गरिएको आन्तरिक प्राइमरी निर्वाचनमा धेरै मत प्राप्त गरेका उम्मेदवारहरू सूचीको माथिल्लो स्थानमा नपरेपछि पार्टीको छनोट प्रक्रियामाथि प्रश्न उठेको हो ।
दलित क्लस्टरतर्फ सबैभन्दा बढी १३ हजार १४३ मत पाएका विजय जैरू समानुपातिक सूचीमै नपरेपछि पार्टी सदस्य र समर्थकबीच असन्तोष चुलिएको छ ।
२०७९ सालको निर्वाचनमा समानुपातिक सूचीमा समावेश भएका जैरू यसपटक भने अयोग्य ठहरिए । जैरूले आफूले संगठन विस्तारदेखि आर्थिक पारदर्शितासम्म सक्रिय भूमिका खेलेको दाबी गर्दै प्राइमरीमा पाएको जनमतलाई नेतृत्वले बेवास्ता गरेको आरोप लगाए ।
यस्तै, खसआर्य महिलातर्फ प्राइमरीमा १३ हजार ५५१ मत प्राप्त गरी महिलामध्ये सबैभन्दा धेरै मत ल्याएकी रञ्जु दर्शना पनि सूचीको माथिल्लो स्थानमा परिनन् । उनलाई खसआर्य महिलातर्फ दसौँ नम्बरमा राखिएको छ, जबकि कम मत ल्याएकी प्रतिभा रावल पहिलो स्थानमा परेकी छन् । खसआर्य क्लस्टरमै सर्वाधिक १८ हजार २२३ मत पाएका रमेश प्रसाईं पनि सूचीको पाँचौँ नम्बरमा सीमित छन् ।
प्राइमरीमा मत कम पाएका केही उम्मेदवार भने नेतृत्वसँगको राजनीतिक निकटता र अन्य मापदण्डका आधारमा अघि सारिएको पार्टीभित्रै चर्चा छ । पार्टीका केही नेताहरूले समानुपातिक सूची निर्धारणमा शीर्ष नेतृत्वको प्रभाव देखिएको स्वीकार गर्दै नाम नबताउने शर्तमा ‘मतभन्दा पनि राजनीतिक समीकरण निर्णायक बनेको’ बताएका छन् ।
यद्यपि, रास्वपाको नेतृत्व भने पक्षधरता अस्वीकार गर्छ । समानुपातिक उम्मेदवार छनोटको रूपरेखा तयार पारेका सहमहामन्त्री विपिनकुमार आचार्यले प्राइमरी मतलाई मात्र आधार नबनाइएको स्पष्ट पारे । उनका अनुसार उम्मेदवार छनोटमा प्राइमरीको मतभार ५० प्रतिशत मात्रै राखिएको थियो भने बाँकी ५० प्रतिशत लिडरसिप एकेडेमी, राजनीतिक सक्रियता (पोलिटिकल प्रोक्सिमिटी), प्रस्तुति क्षमता र पार्टी भिजनका आधारमा मूल्याङ्कन गरिएको हो ।
पार्टीका अनुसार समानुपातिकतर्फ ३८८ जना उम्मेदवारमध्ये २६ हजार ४०३ मत खसेका थिए । रास्वपाको एपमा २ लाख ५० हजार सदस्य दर्ता भए पनि सक्रिय रूपमा मतदान गर्ने संख्या अपेक्षाकृत कम रहेको पार्टी स्रोत बताउँछ । यही कारण ‘स्याम्पल साइज सानो भएकाले मत मात्रै निर्णायक बनाउन नसकिने’ निष्कर्षमा पार्टी पुगेको दाबी गरिएको छ ।
दलित क्लस्टरमा जैरूको पक्षमा पार्टीभित्रै समर्थन देखिएको छ । दलित पुरुषतर्फ सूचीमा रहेका डा. रामजी रामले सामाजिक सञ्जालमार्फत जैरूलाई उचित स्थान दिनुपर्ने माग गरेका छन् । उनले प्राइमरी निर्वाचनको नतिजालाई बेवास्ता गर्दा पार्टीभित्रको लोकतान्त्रिक अभ्यास कमजोर हुने चेतावनी दिएका छन् ।
रास्वपाले सोमबार अबेर समानुपातिक बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको छ । निर्वाचन कार्यक्रमअनुसार आयोगले प्रतिनिधित्व र योग्यता जाँचपछि आवश्यक संशोधनका लागि समय दिनेछ । अन्तिम बन्दसूची माघ २० गते सार्वजनिक हुने कार्यतालिका छ ।
यसबीच रास्वपाभित्र समानुपातिक सूचीको क्रम निर्धारणलाई लिएर उठेको बहसले पार्टीको आन्तरिक लोकतन्त्र र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको छ ।










Facebook Comments