
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस प्रक्रिया तीव्र पारेको छ ।
पार्टीले सातवटै प्रदेश कमिटीलाई यही पुस २४ गतेभित्र जिल्लाबाट सिफारिस भएका उम्मेदवारको नामावली केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ ।
एमालेका सचिव डा. राजन भट्टराईका अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा तीनजनाको नाम सिफारिस गर्नुपर्नेछ, जसमा अनिवार्य रूपमा एक महिला उम्मेदवार समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ । उनले एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाले भने पुस २० गतेभित्र उम्मेदवार छनोट गरी प्रदेश कमिटीमा पठाइसक्नुपर्ने बताए ।
'एक निर्वाचन क्षेत्र भएका जिल्लाले पुस २० भित्र सिफारिस पठाउनेछन् भने एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका नामावली पुस २४ भित्र केन्द्रीय कार्यालयमा आइपुग्ने गरी पठाउन भनिएको छ,' सचिव भट्टराईले भने ।
जिल्ला कमिटीबाट आएका नामावलीलाई प्रदेश कमिटीले जस्ताको तस्तै केन्द्रीय कार्यालयमा पठाउन सक्ने वा आवश्यक परे थप नाम समावेश गरेर पठाउन सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।
पार्टीका अनुसार एक निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला कमिटीको सिफारिस मान्य हुने र बहु निर्वाचन क्षेत्र भएका जिल्लामा सम्बन्धित क्षेत्रीय निर्वाचन कमिटीले कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ ।
तल्लो तहबाट आएका उम्मेदवारमध्ये पार्टीले तोकेको मापदण्डका आधारमा निर्वाचन जित्ने सम्भावना भएका व्यक्तिलाई अन्तिम रूपमा टिकट दिइने एमालेले जनाएको छ । उम्मेदवार छनोट प्रक्रियामा समावेशिता र प्रतिस्पर्धात्मक क्षमतालाई प्राथमिकतामा राखिने पार्टीको भनाइ छ ।










Facebook Comments