काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, ऊर्जामन्त्री तथा उज्यालो नेपालका संरक्षक कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सहमति भएको छ । 

सहमतिसँगै घिसिङ उपसभापति बन्ने भएका छन् । पार्टी सभापति भने रवि लामिछाने र प्रधानमन्त्रीको उमेदवार बालेन शाह हुने सहमति रवि र बालेनबीच यसअघि नै भइसकेको छ । 

ad

रवि र बालेनबीच सहमति भएपछि कुलमानलाई पनि सहमतिमा ल्याउन वार्ता र संवाद जारी थियो । जसमा सोमबार सहमति जुटेको हो ।

रवि, बालेन र कुलमानलाई एकै ठाउँमा उभिनका लागि सुधन गुरुङलगायत जेनजी अगुवाहरूले दबाब दिँदै आएका थिए । सहमतिपछि सुधनले आफूहरूले मिलाएरै छाडेको प्रतिक्रिया दिएका छन् ।

सहमतिसँगै रवि, बालेन र कुलमान रास्वपाबाटै चुनाव लड्ने भएका हुन् । रास्वपा केन्द्रीय सदस्य असिम शाहको कार्यालय कमल पोखरीमा सहमति भएको हो ।
 
द काउन्सिल अफ जेनजीका सुधन गुरुङले आफूहरूले रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङलाई मिलाएरै छाडेको उल्लेख गरेका छन् ।

कुलमान र रविसँगको तस्बिर सेयर गर्दै सुधनले फेसबुकमा लेखेका छन्, ‘रवि, बालेन र कुमान चुनावमा सँगै लड्नेछन् ।’

उनले यसलाई राष्ट्रको लागि भनेर अर्थ्याएका छन् । साथै यसलाई इतिहासले सम्झने पनि उनको भनाइ छ ।