काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी र उज्यालो नेपाल पार्टीबीच पार्टी एकताको तयारी अन्तिम चरणमा पुगेको छ । दुवै दलका वार्ता टोलीले पटक–पटक छलफल गरिसकेको र आइतबार साँझ ६ बजे शीर्ष नेताहरूको सहभागितामा निर्णायक बैठक बस्ने तयारी भएको छ ।

डा. बाबुराम भट्टराई र जनार्दन शर्माको संरक्षकत्वमा रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी तथा ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच विचार, कार्यदिशा र संगठनात्मक संरचनाका विषयमा सकारात्मक सहमति बन्दै गएको जनाइएको छ । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य जितराम तामाङले दुवै दलबीच संवाद उत्साहजनक रहेको बताउँदै आजको बैठकले एकताको दिशामा ठोस निर्णय दिने अपेक्षा व्यक्त गरे ।

ad

यसअघि उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकताको सम्भावना खोज्ने क्रममा रहे पनि विलयको मोडालिटी उपयुक्त नदेखिएको निष्कर्षसहित उक्त प्रक्रिया रोकेको थियो । त्यसपछि प्रगतिशील लोकतान्त्रिक पार्टीसँगको संवादलाई तीव्र बनाइएको स्रोतको भनाइ छ ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद् सदस्य सुदन किराँतीले पनि एकताको लक्ष्यसहित निरन्तर छलफल भइरहेको पुष्टि गरे । ‘हामीबीच पटक–पटक संवाद भएको छ र आजको छलफल पनि त्यसैको निरन्तरता हो । हाम्रो उद्देश्य पार्टी एकतामै पुग्ने हो,’ उनले बताए ।

नयाँ वैचारिक धार निर्माण, वैकल्पिक राजनीतिक शक्ति सुदृढीकरण र संगठनात्मक विस्तारलाई केन्द्रमा राखेर अघि बढिरहेका यी दुई दलबीच सम्भावित एकताले समकालीन नेपाली राजनीतिमा नयाँ ध्रुवीकरण ल्याउने संकेत देखिएको छ । आजको शीर्ष तहको बैठकबाट एकताको ढाँचा, नेतृत्व व्यवस्थापन र आगामी राजनीतिक कार्ययोजनाबारे ठोस निर्णय सार्वजनिक हुने अपेक्षा गरिएको छ ।