
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भएको ७ बुँदे सहमतिलाई स्वागत गरेका छन् ।
आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूबीच एकता र ध्रुवीकरण हुनु स्वाभाविक र सकारात्मक भएको प्रतिक्रिया दिए । उनले रास्वपा र बालेनबीचको सहमतिलाई आफूले पहिले देखिनै अपेक्षा गरेको कदमका रूपमा व्याख्या गरे ।
प्रचण्डले निर्वाचनको समयमा हुने एकीकरणले राजनीतिक शक्तिलाई सुदृढ बनाउने उल्लेख गर्दै सबै दल शान्तिपूर्ण ढंगले चुनावमा होमिनुपर्नेमा जोड दिए । उनले आफ्नो पार्टी पनि विभिन्न दलहरूलाई एकतामा ल्याउने प्रयासमा सक्रिय रहेको जानकारी गराए ।
‘निर्वाचनको मुखमा एकीकरण र ध्रुवीकरण हुनु स्वाभाविक प्रक्रिया हो । जस–जसले एकता गर्नुभएको छ, त्यसलाई स्वागत गर्नुपर्छ,’ उनले भने, ‘हामीले पहिले नै १६ वटा पार्टी एकतामा ल्याइसकेका छौँ । सम्भवतः एक–दुई दिनभित्रै अझ ठूला दल पनि यस प्रक्रियामा जोडिन सक्छन् । त्यसका लागि हामी कम्मर कसेर लागिरहेका छौँ ।’
उनले आगामी निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गर्दै सबै पक्षले सहकार्य र संयम देखाउनुपर्ने धारणा पनि व्यक्त गरे ।










Facebook Comments