काठमाडौं । कम्प्युटर साइन्स अल्मुनाइ तथा विद्यार्थी एसोसियन अफ कम्प्युटर साइन्सले त्रिभुवन विश्वविद्यालय सेवा आयोग र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा तालाबन्दी गरेका छन् । आगामी पुस १५ गतेका लागि तय गरिएको कम्प्युटर विज्ञान पदको प्रथम पत्रको परीक्षा स्थगित गर्नुपर्ने मागसहित उनीहरूले तालाबन्दी गरेका हुन् ।

आन्दोलनरत समूहले सेवा आयोगले प्रकाशित गरेको विज्ञापनअनुसार दरखास्त स्वीकृत भएका सबै उम्मेदवारको शैक्षिक योग्यता विषय समितिको निर्णयअनुसार पुनः जाँच गर्नुपर्ने माग गरेका छन् । त्यसपछि मात्रै अन्तिम योग्य उम्मेदवारको नामावली सार्वजनिक गरी परीक्षा मिति तोक्नुपर्ने उनीहरूको भनाइ छ ।

ad

उनीहरूले सेवा आयोगद्वारा प्रकाशित कम्प्युटर विज्ञान पदको विज्ञापन नम्बर ११८५/२०८१–८२ मा गम्भीर त्रुटि भएको दाबी गरेका छन् । यसअघि अयोग्य ठहर भई नामावलीबाट हटाइएका तथा विषय र योग्यता नमिल्ने उम्मेदवारलाई फेरि योग्य ठहर गरी थप नामावलीमार्फत सार्वजनिक गरिएकोप्रति आपत्ति जनाइएको छ ।

आन्दोलनरत पक्षले यस्ता निर्णयले योग्य उम्मेदवारको अधिकार कुण्ठित भएको र परीक्षा प्रक्रियाको विश्वसनीयतामाथि प्रश्न उठेको बताएका छन् । माग सम्बोधन नभए आन्दोलनलाई थप कडा बनाउने चेतावनी पनि उनीहरूले दिएका छन् ।