
काठमाडौं । मधेस केन्द्रित राजनीति गर्दै आएका दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल फेरि एकीकरणमा जाने भएका छन् । आइतबार काठमाडौंमा बसेको दुवै दलका शीर्ष नेताहरू तथा पदाधिकारीहरूको संयुक्त बैठकले पार्टी एकीकरण गर्ने औपचारिक निर्णय गरेको हो ।
बैठकपछि जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक परिस्थितिको गम्भीर समीक्षा पछि एकतामा जाने निष्कर्षमा पुगेको जानकारी दिएका छन् । विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, संघीयता सुदृढ बनाउने, पहिचान, समानुपातिक समावेशिता र सामाजिक न्यायका मुद्दालाई अझ सशक्त रूपमा अघि बढाउन दुवै दल एक ठाउँमा उभिने प्रतिबद्धता जनाइएको छ ।
संयुक्त विज्ञप्तिमा भनिएको छ, “अग्रगामी परिवर्तनका मुद्दाहरूलाई थप मजबुत बनाउँदै न्यायपूर्ण समाज निर्माण गर्ने ऐतिहासिक जिम्मेवारीलाई आत्मसात् गर्दै जसपा नेपाल र लोसपा नेपालबीच पार्टी एकीकरण गर्ने निर्णय गरिएको छ।”
यसअघि एउटै राजनीतिक यात्रामा रहेर पछि अलग भएका यादव र ठाकुरबीच फेरि सहकार्य र एकताको निर्णय हुनु मधेसको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ । पछिल्ला वर्षहरूमा विभाजनका कारण कमजोर बन्दै आएको मधेस केन्द्रित शक्ति पुनः संगठित हुने अपेक्षा गरिएको छ ।
एकीकरणको निर्णयसँगै दुवै दल आगामी निर्वाचनमा संयुक्त रूपमा अघि बढ्ने सहमतिमा पुगेका छन् । संगठनात्मक संरचना, नेतृत्व व्यवस्थापन र चुनावी रणनीतिबारे थप छलफल गरी छिट्टै विस्तृत कार्ययोजना सार्वजनिक गरिने जनाइएको छ ।










Facebook Comments