काठमाडौं । नेकपा एमालेभित्र समानुपातिकतर्फको बन्दसूचीलाई लिएर आन्तरिक छलफल तीव्र बनेको छ । अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूचीमा संशोधन गर्दै ईश्वर पोखरेललाई अगाडि राख्न उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले सुझाव दिएका छन् ।

च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकमा ओलीले खुला समूहको पहिलो नम्बरमा गुरु बरालको नाम प्रस्ताव गरेका थिए । तर विष्ट र भट्टराईले पार्टीभित्र एकताको सन्देश दिन र हालै सम्पन्न महाधिवेशनपछिको राजनीतिक सन्तुलन कायम गर्न उक्त प्रस्ताव पुनर्विचार गर्नुपर्ने धारणा राखेका हुन् ।

ad

बैठकमा बोल्दै भट्टराईले अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गरेका वरिष्ठ नेता ईश्वर पोखरेललाई पहिलो स्थानमा राख्दा पार्टीभित्र सकारात्मक सन्देश जाने तर्क अघि सारे । ‘भर्खरै महाधिवेशन सकिएको अवस्थामा अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएका नेतालाई अगाडि राख्दा एकताको संकेत जान्छ,’ उनको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ ।

विष्ट र भट्टराईले मनोनीत तथा समानुपातिक सूचीमा पटक–पटक समेटिँदै आएका नेताभन्दा पार्टीको व्यापक सन्तुलन र सन्देशलाई प्राथमिकता दिनुपर्ने धारणा पनि राखे । सुवास नेम्वाङको निधनपछि ओलीले उपाध्यक्षमा मनोनीत गरेका गुरु बराल एघारौँ महाधिवेशनमा सोही पदका उम्मेदवार भए पनि पराजित भएका थिए । त्यसै कारण उनलाई पहिलो नम्बरमा राखेर जानु उपयुक्त नहुने उनीहरूको तर्क छ ।

समानुपातिक बन्दसूचीबारे अन्तिम निर्णय भने पार्टी नेतृत्वकै हातमा रहे पनि सचिवालय बैठकमा उठेका यी सुझावले एमालेभित्रको शक्ति सन्तुलन र आगामी रणनीतिलाई थप चासोको विषय बनाएको छ ।