
काठमाडौँ । जेन–जी आन्दोलनका अभियन्ता सुधन गुरुङले २३ र २४ भदौका घटनासम्बन्धी छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगमा उपस्थित भई बयान दिएका छन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगमा उपस्थित भएका गुरुङले आफू आबद्ध ‘हामी नेपाल’ संस्थासँग सम्बन्धित आर्थिक कारोबारका विवरणसमेत बुझाएका छन् ।
गुरुङ आइतबार आयोगमा उपस्थित भएर संस्थाको आम्दानी र खर्चसम्बन्धी हालसम्मका सम्पूर्ण कागजातको फाइल आयोगलाई हस्तान्तरण गरेको जानकारी दिए । आफू र संस्थामाथि उठाइएका आरोपको सत्यतथ्य प्रमाणका आधारमा स्पष्ट पार्ने उद्देश्यले आयोगमा उपस्थित भएको उनले बताए ।
‘हामीमाथि लगाइएका आरोपका विषयमा प्रमाण बोल्नुपर्छ भन्ने ठानेर आयोगमा आएको हुँ,’ गुरुङले भने, ‘सत्य कहिल्यै डराउँदैन भन्ने विश्वासका साथ छानबिन प्रक्रियामा सहभागी भएको हुँ ।’
हामी नेपालमाथि सहयोग रकम दुरुपयोग गरेको आरोप सार्वजनिक भएपछि त्यसबारे स्पष्ट पार्न आयोगलाई सबै विवरण बुझाइएको उनको भनाइ छ । छानबिनमार्फत वास्तविकता बाहिर आउने र सत्य उजागर हुनेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको गुरुङले दाबी गरे ।
आयोगले सरकारी तथा गैरसरकारी संस्थाहरूसँग सम्बन्धित विवरण संकलन गरिरहेको छ । सोही क्रममा हामी नेपालसँग सम्बन्धित आर्थिक गतिविधिको विवरण मागिएपछि गुरुङ स्वयं आयोगमा उपस्थित भई कागजात बुझाएर बयान दिएका हुन् ।








Facebook Comments