काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच आइतबार बिहान ७ बुँदे राजनीतिक सहमति भएको छ । सहमतिअनुसार बालेन आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा रास्वपाबाट अघि बढ्नेछन् भने पार्टीको सभापतिमा रवि लामिछाने नै रहनेछन् ।

सहमति पत्रमा फागुन २१ पछि हुने प्रतिनिधिसभा निर्वाचनबाट रास्वपाले प्राप्त गर्ने संसदीय दलको नेतासमेत बालेन नै हुने उल्लेख छ । प्रधानमन्त्रीको उम्मेदवार र संसदीय दलको नेताको जिम्मेवारी बालेनले सम्हाल्ने सहमतिपछि पार्टीभित्र उनको वरीयताबारे चर्चा सुरु भएको छ ।

ad

हाल रास्वपामा सभापति लामिछानेपछि उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्ले वरीयतामा छन् । बालेनको प्रवेशपछि पार्टीको आन्तरिक वरीयता कसरी तय हुन्छ भन्ने विषय केन्द्रीय समितिको बैठकबाट टुंगो लाग्ने उपसभापति अर्यालले बताए । उनले वरीयताभन्दा पनि राजनीतिक उद्देश्य र जनताका लागि दिने नतिजा महत्त्वपूर्ण हुने धारणा राखे ।

‘हामी राष्ट्र, राष्ट्रियता र जनजीविकाका विषयमा त्याग गर्न राजनीतिमा आएका हौं,’ अर्यालले भने, ‘रोलक्रम वा मर्यादाभन्दा जनताका लागि के डेलिभरी हुन्छ भन्ने कुरा नै मुख्य हो । पार्टीको वरीयताबारे निर्णय केन्द्रीय समितिले गर्छ ।’

यसअघि स्वर्णिम वाग्ले पार्टीमा प्रवेश गर्दा स्थापना कालका उपसभापति अर्यालपछिको वरीयतामा राखिएको उदाहरण दिँदै पार्टीभित्र वरीयता लचकदार ढंगले तय हुँदै आएको नेताहरूको भनाइ छ । सोही आधारमा बालेनलाई दोस्रो वरीयतामा राख्ने विषयमा छलफल हुन सक्ने संकेत देखिएको छ ।

यता, रास्वपाले अन्य वैकल्पिक शक्तिसँग पार्टी एकताका लागि पनि संवाद अघि बढाएको जनाएको छ । उपसभापति अर्यालका अनुसार मन्त्री तथा उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसहित नयाँ राजनीतिक शक्तिका नेताहरूसँग निरन्तर छलफल भइरहेको छ । क्षमतावान् व्यक्तिहरूलाई पार्टीमा समेटेर आगामी निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवार अघि सार्ने तयारी रास्वपाले गरिरहेको उनले बताए ।