काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आइतबार बिहान रास्वपा सभापति रवि लामिछाने र  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सातबुँदे सहमति भएपछि भदौ २३ र २४ गते हिंसात्समक घटनाको योजनाकार  र मतियार को थिए भन्ने  सार्वजनिक हुन लागेको प्रतिक्रिया दिएका छन्। 


उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– भाद्र २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाको हत्या गरियो। त्यसको आडमा भाद्र २४ गते मुलुकको अस्मिता र सामर्थ्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधार स्तम्भमाथि आक्रमण गरियो। यी विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए ? भन्ने कुरा क्रमशः सार्वजनिक हुँदैछ । भाद्र २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो। अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरु हुँदैछ।

ad

उनले यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक भएको बताउँदै  नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सकृय भूमिका खेल्नुपर्ने जनाएका छन् ।