
वसन्त लोहनी
अलि अगाडिको कुरा
आफू समातिने डरले सताएपछि
आफूलाई समाजसेवी भन्नेले एकपटक बजारभरि पर्चा बाँडे
र, भयंकर उद्घोष गरे–
कसैले छोए ठमेल बजार ठप्प हुनेछ
उज्यालोमा अदृश्य तर अँध्यारोमा दृश्य
तरबार बोक्ने मुसदण्डहरूले सटर पनि बन्द गराए
पछि उनी मन्त्री पनि बने
उनको नाम हो – दीपक मनाङे
उनी हाल जेलमा छन्
राजनीति सम्भावनाको खेल हो
जेल सजाय जोडेर भोलि वर्षौं जेल परेको भन्न सक्छन्
यदि राजनीतिको सेन्ट्रल स्टेजमा आए भने ।
आज सहरभरि चर्चा छ अर्कोको
उनी बरबराइरहेका छन्
सबैलाई तर्साइरहेका छन्
औँला ठडाइरहेका छन्
खबरदार ! खबरदार !!
उनीलाई कसैले छोए देश ठप्प हुनेछ
व्यक्ति भनेकै विचार, विचार भनेकै व्यक्ति
यस्तो सिलसिलामा दासको झुन्ड बोकेर
कायरता उद्गम बहादुरी देखाउन खोज्दा
कतै आफै पक्क पर्नुपर्ने त होइन ?
हक्क न बक्क तिलस्मी छक्क !
विश्व इतिहास साक्षी छ एउटा कुराको
मान्छेलाई सबभन्दा हेक्का नहुने त्यो कुरा एउटा मात्र छ
समय, केवल समय, मात्र समय
मेघालोमेनियाको आनन्दमा उडिरहेको मान्छेलाई त
समय त अन्तरिक्षसरह हुन्छ
उसले के जान्नु समय रोकिएको इतिहास नै छैन भनेर
र, अब त झन् धेरै अगाडि बढिसकेको छ
सरहदपारि सुनेको कानु सन्यालको भाषणप्रदत्त तागतमा
निर्माण भएको क्रान्तिको आलोकाँचो महाज्ञान
अब त एकादेशको कुरा भइसकेको छ ।
भगवान्बाट कुनै गल्ती हुन सक्छ
किनकि भगवान् पर्फेक्ट छैनन्
तर मबाट कुनै गल्ती हुन सक्दैन
मुसदण्ड–द्रव्यनारायण प्रदत्त राजनीतिको महारथी म
केवल म हुँ, सिर्फ म मात्र
त्यसैले बच्चाबच्ची मारिए पनि छानबिनमा जान्नँ
हराए पनि जान्नँ
भ्रष्टाचारको ‘नौका बिहार’ मेरो राजनीति
निथ्रुक्क भिजेको छु
पसिनाले होइन भ्रष्टाचारले
तर लाजै पचाएर भन्छु –
बाछिटा पार्न खोजेका छन् ममाथि भ्रष्टाचारको
गोली खाने बोलीमै मैले उद्घोष गरिसके
छानबिनमा जान्न, जान्न
म जाँदै जान्न
नुन नभएको कानुनले कर गरेर हुन्न
केको कानुनको कुरा
राजनीतिमा सौदाबाजी गर्न सकिन्छ भने अर्कै कुरा
नत्र, के को कानुन, केको राजनीतिक नैतिकताको ?
म जहाँ हुन्छु त्यही कानुन हुन्छ
त्यो त मैले अरूलाई झुन्डाइदिने हो
म त्यसमा अल्झिने होइन
नैतिकता मेरो खल्तीमा हुन्छ
नैतिकता भनेको कमजोर मान्छेको लागि हो
अदालतले तोकेको जेल सजाय काटिसकेको मान्छे म
त्यसैले मेरो लागि होइन
म जस्तो बलियोले त कानुनको भोग चलन गर्ने हो
त्यसको अगाडि लत्रिने होइन ।
म विधिकर्ता हुँ, विधि मान्ने होइन ।









Facebook Comments