
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । हिजो शनिबार निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गरेको हो । ‘संवत् २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगबाट अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय भएको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई अद्यावधिक गरी मतदाता नामावली प्रकाशन गरिएको पनि आयोगले जनाएको छ । प्रकाशित अन्तिम मतदाता नामावलीमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र अन्य २ सयगरी जम्मा १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता समावेश भएका छन् ।
मतदाताले आफ्नो नाम र विवरण आयोगको वेबसाइटमा हेर्न सक्ने पनि निर्वाचन आयोगले जनाएको छ । ०७९ सालमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता थिए । अहिले कुल संख्यामा ९ लाख १५ हजार १ सय १९ जना बढी छ ।










Facebook Comments