
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच आसन्न निर्वाचनलाई लक्षित गर्दै राजनीतिक सहकार्य र नेतृत्व बाँडफाँटको समझदारी नजिक पुगेको छ । प्रारम्भिक ड्राफ्टका मुख्य बुँदामा रास्वपा सभापति रवि लामिछाने र मेयर बालेनबीच सहमति बनेपछि त्यसैलाई आधार मानेर अन्तिम ड्राफ्ट तयार पार्ने काम अघि बढाइएको स्रोतले जनाएको छ ।
सहमति अन्तिम रूप दिन गठित संवाद समितिमा रास्वपाका तर्फबाट उपसभापति स्वर्णिम वाग्ले र शिशिर खनाल तथा बालेन पक्षबाट कुमार बेन (बेञ्जनकार) र भूपदेप साह सहभागी छन् । उनीहरूले नेतृत्व संरचना, चुनावी रणनीति र समानुपातिक सूचीलगायत विषयमा छलफल गरिरहेका छन् ।
स्रोतका अनुसार सहमतिअनुसार पार्टीको सभापतिमा रवि लामिछाने नै रहनेछन् । निर्वाचनपछि बहुमत प्राप्त भए बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने विषयमा दुवैबीच समझदारी बनेको छ । 'पार्टी नेतृत्व रविले गर्ने र सरकारको नेतृत्व बालेनले गर्ने मोडेलमा सहमति भएको छ,' रास्वपा स्रोतले भन्यो, 'यसै आधारमा चुनावमा जाने तयारी भइरहेको छ ।'
बालेनले रास्वपाको संगठन, चुनाव चिह्न र संरचना स्वीकार गर्दै पार्टीमा जोडिन सहमति जनाइसकेको पनि स्रोतको दाबी छ । अन्तिम ड्राफ्ट तयार भएपछि सम्भव भएसम्म आजै, नभए भोलिसम्म रवि र बालेनबीच प्रत्यक्ष भेटेर सहमति टुंग्याउने तयारी गरिएको छ । त्यसपछि कुलमान घिसिङलाई समेत समेटेर त्रिपक्षीय सहमति सार्वजनिक गर्ने योजना रहेको बताइएको छ ।
बालेन र सम्भावित रूपमा कुलमान घिसिङ जोडिँदा समानुपातिक उम्मेदवारको सूची कसरी व्यवस्थापन गर्ने भन्ने विषय पनि सहमतिमै टुंग्याइने तयारी छ । रास्वपाले देशव्यापी आवेदन, प्रस्तुतीकरण, अन्तर्वार्ता र आन्तरिक चुनावमार्फत सूची तयार गर्ने प्रक्रिया अघि बढाइसकेको अवस्थामा नयाँ शक्ति समेटिँदा अनुपात मिलाउने विषय ड्राफ्टमै राखिएको स्रोतले जनाएको छ ।
निर्वाचन आयोगले समानुपातिक बन्दसूची बुझाउने समयसीमा पुस १३ र १४ तोकेकाले पनि सहमति छिटो टुंग्याउन दबाब रहेको बताइन्छ ।
रवि र बालेनबीच यसअघि कमलपोखरीस्थित एक निजी निवासमा भएको भेटवार्तामा कुरा लगभग बिग्रिने अवस्थामा पुगेको थियो । त्यतिबेला चुनावपछिको प्रधानमन्त्रीको विषय खुलेर नउठेपछि बालेन असन्तुष्ट बनेका थिए । त्यसपछि उनले वैकल्पिक दल र नेतासँग शृंखलाबद्ध भेटवार्ता थालेका थिए ।
तर ज्वागलमा भएको पछिल्लो छोटो भेटपछि पुनः सहमतिको बाटो खुलेको बालेननिकट स्रोत बताउँछ । 'कमलपोखरीमा बिग्रिएको कुरा ज्वागलमा मिल्यो,' स्रोतले भन्यो, 'एक जनाले पार्टी र अर्काले सरकार नेतृत्व गर्ने मोडेल व्यावहारिक देखियो ।'
रास्वपासँग सहकार्य भए बालेन एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग जसरी पनि प्रत्यक्ष प्रतिस्पर्धा गर्ने मनस्थितिमा रहेको उनका निकटस्थहरू बताउँछन् । ओली जुनसुकै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिए पनि आफू पनि त्यहीँबाट प्रतिस्पर्धा गर्ने तयारी बालेनको रहेको दाबी गरिएको छ ।
काठमाडौं महानगरको मेयरका रूपमा निर्वाचित भएपछि राष्ट्रिय चर्चामा आएका बालेन र पहिलो संसदीय चुनावमै चौथो शक्तिका रूपमा उदाएको रास्वपाको सम्भावित गठजोडलाई आगामी निर्वाचनको महत्वपूर्ण राजनीतिक घटनाक्रमका रूपमा हेरिएको छ । प्रमुख दलहरू प्रतिनिधिसभा पुनर्स्थापनामा केन्द्रित रहँदा वैकल्पिक भनिएका शक्ति भने चुनावमै जानुपर्ने अडानसहित तयारी तीव्र बनाइरहेका छन् ।










Facebook Comments