काठमाडौं । काठमाडौंको ठमेलमा भएको झगडामा कैंची प्रहारबाट एक युवकको ज्यान गएको घटनाले जेलबाट फरार भएकाहरू पुनः गम्भीर अपराधमा संलग्न हुँदै गएको तथ्य उजागर गरेको छ । असोज १३ गते ठमेलमा भएको झगडामा आकाश मगरले कैंची प्रहार गर्दा मकवानपुर घर भई मनमैजु बस्ने २५ वर्षीय सुरज तामाङको मृत्यु भएको थियो ।

प्रहरी अनुसन्धानका अनुसार हत्या गर्ने आकाश मगर दाङको राप्ती गाउँपालिका–१ घर भएका हुन् । जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते जेलबाट भागेका उनी २१ औँ दिनमै ठमेलमा हत्या घटनामा संलग्न भएका थिए । मृतक र आरोपी पूर्वपरिचित रहेको प्रहरीले जनाएको छ । मगरलाई पुस ९ गते रोल्पाबाट पक्राउ गरिएको हो । उनी लागुऔषध मुद्दामा अदालतबाट पाँच वर्ष कैद सजाय पाएर नख्खु कारागारमा रहेका थिए र २०८० असोज २७ गतेदेखि फरार थिए ।

ad

आकाश मात्रै होइन, जेलबाट भागेकाहरू धमाधम गम्भीर अपराधमा संलग्न हुन थालेपछि प्रहरीका लागि अपराध नियन्त्रण थप चुनौतीपूर्ण बन्दै गएको छ । कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म ४ हजार ५८० जना कैदी र थुनुवा अझै कारागार फर्केका छैनन् । विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार ४ हजार २७३ जना कैदी र बालसुधार गृहबाट भागेका ३०७ जना अझै फरार छन् ।

यस्तै, काभ्रेको पनौती नगरपालिका–१२ घर भएका सन्तबहादुर तामाङ बलात्कार मुद्दामा सजाय काटिरहेका थिए । तीन वर्षदेखि नख्खु कारागारमा रहेका उनी भदौ २४ मा फरार भए । जेलबाट सिधै घर पुगेका तामाङले असोज २ गते आफ्नी ३० वर्षीया पत्नी मनिषाको हत्या गरे । शव घरदेखि करिब ५०० मिटर टाढा गाडेर असोज ३ गते उनी पुनः नख्खु कारागार फर्किएका थिए । विवाहेत्तर सम्बन्धको विषयलाई लिएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दाङको तुलसीपुर कारागारबाट भागेका २२ वर्षीय खिमबहादुर विक पनि गम्भीर अपराधमा संलग्न भएका छन् । तुलसीपुर उपमहानगरपालिका–५ घर भएका विकले असोज ११ मा ५३ वर्षीय पुरुषको हत्या गरेका थिए । यसअघि पनि उनी कर्तव्य ज्यान मुद्दामा जेल परेका थिए । प्रहरीले उनलाई पक्राउ गरी पुनः कानुनी कारबाही अघि बढाएको छ ।

प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले आपराधिक मनस्थिति, मादक पदार्थ सेवन, लागुऔषध तथा पूर्व रिसइबीका कारण यस्ता घटना दोहोरिने गरेको बताए । प्रहरी प्रधान कार्यालयले जेनजी प्रदर्शनका क्रममा फरार भएका कैदीहरू पुनः अपराधमा संलग्न भएको घटनाको तथ्यांक संकलन गरिरहेको र त्यसको कारणबारे अध्ययन तथा विश्लेषण गरिने उनले जानकारी दिए ।

कञ्चनपुरको दोधारा–चाँदनीका ३५ वर्षीय दीपक सुनार बलात्कार मुद्दामा नौ वर्ष कैद सजाय भोगिरहेका थिए । उनी कारागारबाट भागेको भोलिपल्टै भदौ २६ गते ५० वर्षीया महिलामाथि जबर्जस्ती गर्ने प्रयास गरेको आरोपमा पक्राउ परे । स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपछि उनलाई पुनः कारागार पठाइएको छ । उनीविरुद्ध बलात्कार उद्योगको मुद्दा पनि दर्ता भएको छ ।

जेलबाट भागेकाहरू अपराध गर्ने मात्रै होइन, कहिलेकाहीँ आफैं जघन्य अपराधको सिकार समेत बन्ने गरेका छन् । मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका २८ वर्षीय नारायण कुमालको कात्तिक ७ गते पूर्वी नवलपरासीको गैंडाकोटमा हत्या भएको थियो । इँटा भट्टा नजिकै धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको र घटनामा संलग्न पाँच जनालाई प्रहरीले कारबाहीको दायरामा ल्याएको छ । कुमालविरुद्ध अदालतले बलात्कार मुद्दामा १० वर्ष कैद र ३५ हजार जरिवानाको फैसला गरेको थियो ।

यसैबीच, जेनजी आन्दोलनमा सहभागी एक युवकले आन्दोलनपछि आफ्नै आमाको हत्या गरेको घटना पनि सार्वजनिक भएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका यमबहादुर कँडेलले असोज २० गते ५५ वर्षीया आमा राममाया कँडेलको धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । प्रहरीले उनलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । आमाको हत्या अभियोगमा पक्राउ परेपछि कँडेलले आन्दोलनका क्रममा प्रहरीसँग गरेको आक्रोशपूर्ण संवाद सामाजिक सञ्जालमा पुनः भाइरल भएको थियो ।

यी घटनाले जेल सुरक्षा, फरार नियन्त्रण र पुनःअपराध रोकथाममा गम्भीर प्रश्न उठाएको प्रहरी अधिकारीहरू बताउँछन् ।