
काठमाडौँ । फागुन २१ नजिकिँदै जाँदा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले प्रमुख राजनीतिक दल र तिनका शीर्ष नेतासँग सम्बन्ध सुधार र विश्वास निर्माणलाई तीव्र बनाएको छ । तोकिएको मितिमा प्रतिनिधिसभा सदस्य निर्वाचन गराउने मुख्य म्यान्डेट पाएको सरकारले दलहरूलाई पूर्ण विश्वासमा लिएर चुनाव सम्पन्न गर्ने उद्देश्यसहित भेटघाट र संवादलाई प्राथमिकतामा राखेको हो ।
निर्वाचनको वातावरण तयार पार्न प्रधानमन्त्री कार्कीसहित सरकारका मन्त्रीहरू पछिल्ला दिनमा दलका नेतासँग म्याराथन शैलीमा छलफलमा जुटेका छन् । यसअघि प्रधानमन्त्री कार्कीले प्रमुख दलका शीर्ष नेतासँग संवाद नगर्ने अभिव्यक्ति दिँदै आएकी थिइन् । तर निर्वाचन नजिकिँदै जाँदा सरकारको प्राथमिकता संवाद र सहकार्यतर्फ केन्द्रित भएको देखिएको छ ।
सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले बिहीबार नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निवासमै भेटेर शान्ति–सुरक्षा स्थिति मजबुत हुँदै गएको र निर्वाचनको वातावरण पनि बन्दै गएकाले फागुन २१ मा चुनाव नहुने आशंका नराख्न आग्रह गरे । उनले तोकिएको मितिमा निर्वाचन हुनेमा सरकार प्रतिबद्ध रहेको सन्देश दिएको बताए ।

यसअघि मन्त्री खरेल र कानुनमन्त्री अनिलकुमार सिन्हाले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका विभिन्न राजनीतिक दलका कार्यालयको स्थलगत अनुगमन गरेका थिए । पुस ८ र ९ गते कांग्रेस, एमाले, नेकपा, रास्वपा, राप्रपा र जनमत पार्टीलगायतका कार्यालय पुगेर अनुगमन गरेपछि मन्त्री खरेलले शीर्ष नेतासँग प्रत्यक्ष भेटेर निर्वाचनको वातावरण बनाउन संवादलाई निरन्तरता दिएका हुन् ।
पुस ९ गते राष्ट्रपति रामचन्द्र पौडेलको मध्यस्थतामा प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच शीतलनिवासमा त्रिपक्षीय छलफल भएको थियो । उक्त छलफलमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीले निर्वाचन बाहेक अर्को विकल्प नरहेको भन्दै सबै दललाई चुनावमा केन्द्रित हुन आग्रह गरेका थिए । त्यसक्रममा प्रचण्डले सुरुबाटै निर्वाचनको पक्षमा आफू उभिएको र तोकिएको मितिमा चुनाव गराउन सहयोग गर्न तयार रहेको बताएका थिए । तर कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले सरकारले निर्वाचनको कुरा गरे पनि उपयुक्त वातावरण अझै नबनेको गुनासो गरेका थिए । ओलीले पार्टी गतिविधिमा अवरोध र नेतामाथि लगाइएका सीमाका विषयमा समेत प्रश्न उठाएका थिए ।
शीतलनिवासको छलफलपछि प्रधानमन्त्री कार्कीले शनिबार पुनः तीनै दलका शीर्ष नेतासँग अलग–अलग संवाद आयोजना गरेकी थिइन् । त्यसपछि बिहीबार भएको पछिल्लो भेटवार्तापछि मन्त्री खरेलले फागुन २१ मा निर्वाचन हुने विषयमा रहेका अधिकांश आशंका हटेको प्रतिक्रिया दिए ।
खरेलले कांग्रेस सभापति देउवाले कांग्रेसको प्राथमिकता निर्वाचन नै भएको स्पष्ट पारेको र समयमै चुनाव सम्पन्न गर्न सरकारलाई आग्रह गर्दै शान्ति–सुरक्षाको वातावरण बलियो बनाउन सुझाव दिएको बताए । यस्तै, प्रचण्डले पनि वर्तमान अवस्थामा निर्वाचनको विकल्प नरहेको भन्दै फागुन २१ मै चुनाव हुनुपर्नेमा जोड दिएको खरेलको भनाइ छ । उनले चुनाव सफल बनाउन आफ्नो दलको तर्फबाट सरकारलाई पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको बताए ।

सरकार चुनाव गराउन प्रतिबद्ध र कटिबद्ध रहेको उल्लेख गर्दै खरेलले सुशासन र लोकतान्त्रिक अभ्यासका लागि फागुन २१ मै निर्वाचन अपरिहार्य रहेको बताए । सरकारले सबै पक्षसँग वार्ता र छलफललाई अझै निरन्तरता दिने र तोकिएको मितिमा निर्वाचन सुनिश्चित हुने उनको दाबी छ ।
तीन ठूला दलका नेतासँगको भेटपछि सबै दल चुनावको विरोधी नभएको र नयाँ जनादेशबाट अघि बढ्नुपर्नेमा सहमत देखिएको खरेलले बताए । एमाले अध्यक्ष ओलीले निर्वाचनमा जानुपर्ने तर सुरक्षाको वातावरण बलियो बनाउनुपर्ने धारणा राखेको र सरकारले त्यसको जिम्मेवारी लिने प्रतिबद्धता जनाएको उनले बताए । उनका अनुसार कांग्रेस, एमाले र नेकपा तीनै दल फागुन २१ को निर्वाचनमा सहभागी हुने संकेतसँगै अहिलेको संवादले चुनावी वातावरण तयार भएको छ ।










Facebook Comments