
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको आन्तरिक सुदृढीकरण र मुलुकको राजनीतिक निकासका लागि महाधिवेशन र आमनिर्वाचन दुवै अपरिहार्य रहेको बताएका छन् । उनले पार्टी पंक्तिलाई दुवै प्रक्रियाको तयारीमा एकसाथ जुट्न आग्रह गरेका छन् ।
शुक्रबार नेपाल अध्यापक सङ्घको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै खड्काले कांग्रेस निर्वाचनतर्फ अघि बढिसकेको उल्लेख गरे । उनले कार्यकर्तालाई संगठन मजबुत बनाउँदै चुनावी तयारीमा सक्रिय हुन निर्देशन दिए ।
खड्काले अहिले देशभर पार्टीका हरेक एकाइमा क्रियाशील सदस्यता वितरण भइरहेको उल्लेख गर्दै मापदण्ड पुगेका सबैले सदस्यता पाउने सुनिश्चिततामा कार्यकर्ता सचेत हुनुपर्ने बताए । महाधिवेशनमा राम्रो संगठनात्मक प्रदर्शन गर्न सके त्यसको सकारात्मक प्रभाव निर्वाचन परिणाममा पनि पर्ने उनको भनाइ थियो ।
महाधिवेशनबाट भोलानाथ चालिसेको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ । सङ्घको वरिष्ठ उपाध्यक्षमा सुदीप बर्ताैला र महासचिवमा धर्मराज जोशी निर्विरोध चयन भएका छन् । यस्तै, कोषाध्यक्षमा राजेन्द्र गौतम तथा उपमहासचिवमा सुजाता कार्की र देवकान्त यादव निर्वाचित भएका छन् ।
नेपाल अध्यापक सङ्घ २०७९ साउनमा नेपाली कांग्रेसको शुभेच्छुक संस्थाका रूपमा स्थापना भएको हो । निजी शैक्षिक संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीको पेसागत र राजनीतिक अधिकार सुनिश्चित गर्ने उद्देश्यले सङ्घ स्थापना गरिएको आयोजकले जनाएका छन् ।










Facebook Comments