काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सक्रिय राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने चर्चासँगै झापा क्षेत्र नम्बर ५ मा राजनीतिक तरंग देखिएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकसमेत समेटिएको यो निर्वाचन क्षेत्रमा बालेनले उम्मेदवारी दिने हल्लाले राजनीतिक वृत्त तातेको हो ।

बालेनले साँच्चिकै झापा–५ बाट चुनाव लड्ने तयारी गरेका हुन् कि केवल रणनीतिक चर्चामात्रै हो भन्ने विषय अझै स्पष्ट भइसकेको छैन । यसबारे बालेनको सचिवालयका एक सदस्यले ठट्यौली शैलीमा प्रतिक्रिया दिँदै केपी ओलीलाई हराउन नसकिने भन्ने निष्कर्षमा पुग्न नहुने बताए । उनले तयारी भएको पनि हुन सक्ने र शुभचिन्तकहरूले राजनीतिक ‘कार्ड’ फ्याँकेको मात्र पनि हुन सक्ने बताए ।

ad

यस विषयमा सञ्चारकर्मीहरूले एमाले अध्यक्ष ओलीसँग पनि जिज्ञासा राखेका थिए । एघारौँ महाधिवेशनका स्वयंसेवकलाई धन्यवाद दिन कार्की ब्यांक्वेट पुगेका ओलीले बालेन झापा–५ बाट उठ्ने चर्चाबारे सोध्दा छोटो प्रतिक्रिया दिँदै 'बहुत राम्रो' भने ।

बालेन पछिल्लो समय रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग नजिकिएको चर्चा छ । ओली नेतृत्वको सरकारका बेला बालेनले सामाजिक सञ्जालमार्फत निरन्तर आलोचना गरेका थिए । उनले सामाजिक सञ्जालको प्रभाव देखाउँदै ओलीविरुद्ध ‘अनफलो’ अभियानसमेत चलाएका थिए । यद्यपि, काठमाडौं महानगरको मेयर निर्वाचित भएपछि ओलीले बालकोटमा बोलाएर बालेनलाई तबला उपहार दिएका थिए, जसलाई अहिलेको राजनीतिक तिक्ततासँग तुलना गरिँदै छ ।

झापा–५ एमालेका लागि परम्परागत रूपमा बलियो क्षेत्र मानिन्छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा ओलीले २८ हजार ८४२ मतान्तरसहित विजयी भएका थिए । त्यतिबेला कुल १ लाख ३७ हजार ५४१ मतदातामध्ये ओलीले ९७ हजार १३९ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले २८ हजार २९७ मत पाएका थिए ।

२०७९ सालको निर्वाचनमा पाँचदलीय गठबन्धन बने पनि ओलीले झापा–५ मा आफ्नो पकड कायम राखे । एमाले र राप्रपाको सहकार्यमा ओलीले फेरि चुनाव जिते । त्यस निर्वाचनमा ओलीले ५२ हजार ३१९ मत ल्याएर कांग्रेसका डा. खगेन्द्र अधिकारीलाई पराजित गरेका थिए । अधिकारीले २३ हजार ७४३ मत पाएका थिए ।

स्थानीय तहको निर्वाचन परिणामले पनि झापा–५ मा एमालेको संगठनात्मक शक्ति देखाउँछ । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा एमालेले ४१ हजार ६१९ मत प्राप्त गरेको थियो भने कांग्रेसले २२ हजार २२ मत पाएको थियो । माओवादी केन्द्र १० हजार ७७८ मतमा सीमित रहँदा राप्रपाले ८ हजार ३५३ मत ल्याएको थियो ।

झापा–५ अन्तर्गत दमक नगरपालिका, गौरादह नगरपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिका पर्छन् । यीमध्ये गौरादहमा एमालेले प्रमुख जितेको छ भने दमकमा राप्रपाले मेयर जितेको छ । दमकमा एमालेले सात वटा वडा जितेको छ भने कांग्रेसले दुई र राप्रपाले एक वडा जितेको थियो । समग्रमा हेर्दा २९ वडामध्ये एमालेले १८ वडामा जित हात पारेको थियो ।

स्थानीय बासिन्दाहरूले पनि झापा–५ मा ओलीको प्रभाव अझै बलियो रहेको प्रतिक्रिया दिएका छन् । कमल गाउँपालिकाका स्थानीय मोती राजवंशीले बालेन जस्तो लोकप्रिय व्यक्तित्व आए पनि ओलीलाई हराउन गाह्रो हुने बताए । दमकका राप्रपा समर्थक सुरेन्द्र मैनालीले काठमाडौं र झापाका मतदाताको राजनीतिक चेतना फरक रहेको उल्लेख गर्दै विकास–निर्माणको आधारमा मतदाता ओलीतर्फ झुक्ने दाबी गरे ।

एमाले जिल्ला कार्यसमिति सदस्य रमला भण्डारीले ओली संसदीय राजनीतिमा रहेसम्म झापा–५ मा विकल्प देखिन नसक्ने बताइन् । उनले बालेनलाई भावनात्मक वा प्रतिशोधात्मक राजनीतिमा नजान सुझाव दिँदै ओलीको निर्वाचन क्षेत्रमा चुनौती दिन कठिन हुने बताइन् ।

जेन–जी आन्दोलनपछि राष्ट्रिय राजनीतिमा नयाँ बहस र चुनौती देखा परे पनि झापा–५ मा त्यसको प्रभाव सीमित हुने स्थानीयको बुझाइ छ । बालेनले अन्ततः झापा–५ बाट चुनाव लड्ने वा नलड्ने निर्णय अझै सार्वजनिक भइसकेको छैन । तर, उनको सम्भावित प्रवेशले ओलीको ‘लालकिल्ला’ मानिने क्षेत्रमा राजनीतिक चासो र बहस भने तीव्र बनाएको छ ।