काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको छ।

बहादुर भवनस्थित आयोगको कार्यालयमा स्थापना गरिएको केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको छ। केन्द्रको उद्घाटन कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरे। कार्यक्रममा आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जवरा, आयोगका सचिव कृष्णबहादुर राउतलगायतको उपस्थिति रहेको थियो।

ad

आयोगले मतदाता, उम्मेदवार, राजनीतिक दल तथा सरोकारवालासम्म निर्वाचनसम्बन्धी सूचना प्रभावकारी रूपमा पुर्‍याउने र सञ्चारमाध्यमसँग नियमित समन्वय तथा सहकार्य बढाउने उद्देश्यले केन्द्र स्थापना गरेको बताए। केन्द्रअन्तर्गत प्रेस अफिस, सूचना सदाचार प्रवर्द्धन एकाइ र विद्युतीय मतदाता शिक्षा एकाइ गरी तीन एकाइ रहने जानकारी आयोगले दिएको छ।

उद्घाटन समारोहमा कार्यबाहक प्रमुख आयुक्त भण्डारीले तथ्यपरक र आधिकारिक सूचनाको प्रभावकारी सम्प्रेषणले निर्वाचनको विश्वसनीयता बढाउने बताए। सामाजिक सञ्जालमार्फत फैलिन सक्ने मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिको रोकथाममा केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

आयोगले सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट फैलिने गलत सूचना, अफवाह तथा डिपफेक सामग्री तत्काल हटाउन र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने तयारी गरेको जनाएको छ। यसका लागि मेटा, टिकटक, एक्सलगायत सामाजिक सञ्जालका मातृ कम्पनीहरूसँग समेत समन्वय गरिएको आयोगले बताएको छ।

समन्वय केन्द्रमार्फत सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आयोगका गतिविधि, निर्वाचनको वातावरण, राजनीतिक दल र उम्मेदवारको पहुँच तथा मतदाता शिक्षा सामग्रीसम्बन्धी ‘कन्टेन्ट एनालसिस’ गर्ने तयारीसमेत गरिएको आयोगले जनाएको छ। यसले निर्वाचनसम्बन्धी निर्णय प्रक्रियामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यबाहक प्रमुख आयुक्त भण्डारीले समानुपातिकतर्फको निर्वाचन कार्यतालिका संशोधन गर्ने कुनै तयारी नरहेको स्पष्ट पारे। उनले निर्वाचनको विषयमा अन्योल सिर्जना गर्ने आवश्यकता नरहेको उल्लेख गर्दै भने, 'हाम्रो डिस्नेरीमा अब निर्वाचन हुँदैन कि भन्ने शब्द छैन।'