काठमाडौं । काठमाडौं महानगरपालिकाले भवन निर्माणसम्बन्धी मापदण्डमा पहिलोपटक संशोधन गरेको छ। मेयर बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार सम्पन्न नगरसभाले भवन मापदण्ड संशोधन र सहकारी ऐनमा परिवर्तन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।

नगरसभा करिब एक घण्टा चलेको थियो। सभाले नेपाल सरकार, भवन विभागले परिमार्जन गरेका नीतिलाई आत्मसात गर्दै महानगरभित्र लागू हुने नयाँ भवन मापदण्ड स्वीकृत गरेको जनाएको छ। संशोधित मापदण्डले बाटोको चौडाइ, बेसमेन्टको उचाइ तथा सेटब्याक (छोड्नुपर्ने खाली स्थान) सम्बन्धी अन्योल हटाउने लक्ष्य राखेको महानगरले जनाएको छ।

ad

नयाँ व्यवस्थाअनुसार सार्वजनिक सेवा प्रवाह गर्ने भवनका लागि न्यूनतम बाटो चौडाइ तोकिएको छ। अब महानगर क्षेत्रभित्र होटल सञ्चालन गर्न कम्तीमा ६ मिटर चौडाइको बाटो अनिवार्य गरिएको छ भने विद्यालय र अस्पताल निर्माणका लागि कम्तीमा ८ मिटर चौडाइको बाटो हुनुपर्ने व्यवस्था गरिएको छ।

यसअघि सबै प्रकारका अग्ला भवनले वरिपरि अनिवार्य रूपमा ५ मिटर सेटब्याक छोड्नुपर्ने प्रावधान रहेको थियो। संशोधित मापदण्डअनुसार अब भने भवनको उचाइअनुसार सेटब्याक निर्धारण गरिने व्यवस्था गरिएको छ।

महानगरपालिकाले नयाँ मापदण्डले व्यवस्थित सहरी विकास, सुरक्षित भवन निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।