काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले फागुन २१ मा हुने निर्वाचनलाई केवल मतदानको प्रक्रियामा सीमित नराखी नयाँ शक्ति र नयाँ नेतृत्व उदयको प्रारम्भिक विन्दुका रूपमा विकास गर्नुपर्ने बताएका छन्। उज्यालो नेपाल पार्टीको पार्टी कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

मन्त्री घिसिङले अहिले देशमा चुनावी माहोल तीव्र बन्दै गएको उल्लेख गर्दै जेन(जी) आन्दोलनपछि बनेको राजनीतिक अवस्थाको प्रमुख दायित्व नै समयमै निर्वाचन सम्पन्न गर्नु रहेको बताए। उनले फागुन २१ को चुनावले देशको राजनीतिक दिशानिर्देश बदल्ने अवसर दिनुपर्नेमा जोड दिए।

ad

उनले देशमा सुशासन, रोजगारी र समृद्धिको मागसहित जेन(जी) आन्दोलन भएको स्मरण गर्दै त्यसबाट आएको परिवर्तनले सकारात्मक परिणाम नदिएर फेरि पुरानै अवस्थामा फर्किनु दुर्भाग्यपूर्ण हुने बताए। आन्दोलनका क्रममा ठूलो धनजनको क्षति भएको, सहादत र घाइतेहरूको पीडालाई खेर जान दिन नहुने उनको भनाइ थियो।

मन्त्री घिसिङले देशभित्र र विदेशमा रहेका सबै नेपालीलाई एकताबद्ध भएर नयाँ शक्ति र नयाँ नेतृत्वलाई अघि बढाउन आह्वान गरे। उनले युवा पुस्ताले नै सुशासन र समृद्ध नेपालको अभियानको नेतृत्व गर्नुपर्ने आवश्यकता औँल्याए।

देशलाई समृद्धिको मार्गमा लैजान नयाँ पुस्ता र नयाँ शक्तिहरूबीच एकता अपरिहार्य रहेको भन्दै उनले परिवर्तन चाहने सबै व्यक्ति र समूहहरू एउटै उद्देश्यका साथ अघि बढ्नुपर्ने बताए।

यसै कार्यक्रममा उज्यालो नेपाल पार्टीका संयोजक अनुप उपाध्यायले विगतका विकृत र पुराना कार्यशैलीलाई सुधार गर्न जेन(जी) आन्दोलन भएको उल्लेख गरे। उनले लामो समयसम्म व्यवस्था परिवर्तन भए पनि जनताको अपेक्षा पूरा हुन नसकेपछि नयाँ बाटोको खोजीस्वरूप उज्यालो नेपाल पार्टी स्थापना गरिएको बताए।

उपाध्यायले जनताको चाहनालाई प्राथमिकतामा राख्ने राजनीति आवश्यक भएको भन्दै अब पुरानै शैली दोहोर्याउन नसकिने स्पष्ट पारे। उनले जेन(जी) आन्दोलनमा बलिदान दिने युवाहरूको सपना पूरा गर्न नयाँ सोच र नयाँ नेतृत्व आवश्यक रहेको बताए।