काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यासअनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने स्पष्ट पारे। 

बिहीबार काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचनका लागि सरकारले आवश्यक वातावरण बनाएको र राजनीतिक दलहरू पनि सोही दिशामा अग्रसर भएको बताए।

ad

मन्त्री खरेलले निर्वाचनका विषयमा कुनै किसिमको अन्योल नरहेको बताए। उनले देशमा राजनीतिक स्थिरता कायम गर्न र लोकतन्त्रलाई सुदृढ बनाउन समयमै निर्वाचन अपरिहार्य भएको उल्लेख गरे। निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।

उनले सरकारले पछिल्ला दिनमा प्रमुख राजनीतिक दलहरूसँग प्रत्यक्ष संवाद गरेको जानकारी दिए। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीका कार्यालयमै पुगेर छलफल तथा अन्तरक्रिया गरिएको बताए। 

राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबीच बैठक भएको उल्लेख गर्दै ती छलफलले निर्वाचनको वातावरण थप अनुकूल बनेको बताए।

'दलहरू निर्वाचनका लागि तयार देखिएका छन्, सरकारले आवश्यक तयारी गरिरहेको छ,' उनले भने।

कार्यक्रममा पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाएर विकास र समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताए। उनले सबै तहका सरकार एकआपसमा सहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिए।

उक्त कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी र बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सोही अवसरमा मन्त्री खरेलले धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिने खरेलथोक स्वारामा आयोजना हुने वार्षिक कुलपूजा तथा धार्मिक कार्यक्रमलाई सम्बोधन गरे।

मन्त्री खरेलले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सरकारको विशेष ध्यान रहेको बताए। स्थानीय समुदायले यस्ता सम्पदाको संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्दै उनले धार्मिक–सांस्कृतिक गतिविधिले सामाजिक एकता र मौलिक पहिचान जोगाउन महत्वपूर्ण योगदान दिएको बताए।