
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पछिल्लो समय तीव्र राजनीतिक भेटघाटमा सक्रिय देखिएका छन्।
यसअघि बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वप्रधानमन्त्रीका सल्लाहकार रहिसकेका कुलमान घिसिङ, व्यवसायी सुनिल शर्मा, सांसद अमरेशकुमार सिंहलगायतसँग पनि भेटघाट गरेका थिए।
पछिल्लो समय बालेन जेनजी पुस्तासँग निरन्तर छलफलमा जुटिरहेका छन्। सोही क्रममा बिहीबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि बालेनसँग छलफलका लागि कुपन्डोल पुगेका थिए। हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनार कुपन्डोलस्थित बालेनको कार्यकक्षमा पुगेर भेटवार्ता गरेका छन्।
भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सुनारले आउँदै गरेको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसको चुनाव चिह्न देखिन नहुने विषयमा आफूहरू अडिग रहेको बताए। उनले हिजो पनि यही धारणा राखेको र आज पनि सोही अडान कायम रहेको बताए।
सुनारले भेटका क्रममा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सामान्य छलफल भएको जानकारी दिए। उनका अनुसार देश संकटतर्फ गएको अवस्थामा वैकल्पिक शक्तिले जिम्मेवारी लिनुपर्ने विषयमा बालेनले चासो व्यक्त गरेका थिए।
'देश अप्ठ्यारो अवस्थामा पुगेको छ, अब हामीले जिम्मा लिनुपर्ने बेला आयो कि होइन भन्ने विषयमा बालेनज्यूको जिज्ञासा थियो,' सुनारले भने, 'त्यस्तो अवस्थामा हामीसँग साथ हुन्छ कि हुँदैन भन्ने कुरा उहाँले सोध्नुभयो। अहिले उहाँ सबैसँग छलफल गरिरहनुभएको छ।'
सुनारले बालेनसँगको भेट आगामी राजनीतिक यात्राबारे विचार–विमर्श केन्द्रित रहेको बताए। उनका अनुसार छलफल कुनै निष्कर्षमा पुगेको छैन तर संवादलाई निरन्तरता दिने समझदारी बनेको छ।
यी भेटघाटले बालेनको राजनीतिक सक्रियता बढ्दै गएको संकेत दिएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै वैकल्पिक राजनीतिक शक्ति निर्माणको सम्भावनाबारे विभिन्न तहमा छलफल भइरहेको देखिन्छ।









Facebook Comments