
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच चार वर्षपछि फेरि पार्टी एकता हुने सहमति बनेको छ। ९ पुसमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपाल अध्यक्ष कमल थापाबीच लिखित सहमति भएपछि १६ पुसमा औपचारिक रूपमा एकता घोषणा गर्ने तयारी गरिएको छ।
२०७६ फागुन २८ मा राष्ट्रिय सभागृहमा भएको एकता सभामा कमल थापाले गीताको पुस्तक समातेर पार्टी कहिल्यै नफुटाउने कसम खाएका थिए। तर, २०७८ मंसिर १५ मा भृकुटीमण्डपमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि थापा पार्टीबाट अलग भएका थिए। सो महाधिवेशनमा लिङ्देनले थापालाई २२७ मतले पराजित गरेका थिए।
अध्यक्षमा हार बेहोरेपछि थापा २०७८ फागुन ७ मा राप्रपा नेपालमा समाहित हुँदै सो पार्टीको नेतृत्व सम्हालेका थिए। त्यसबेला राप्रपा नेपाल धनकुटाका लाक्पा लामाको नेतृत्वमा थियो। तर, अब थापा आफूलाई पराजित गरेका लिङ्देनसँगै एउटै पार्टीमा फर्किन तयार भएका छन्।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जेन–जी आन्दोलनपछि समान विचार र सिद्धान्त भएका शक्तिहरू एक ठाउँमा आउने वातावरण बनेको बताए। उनले राष्ट्रवादी शक्ति बलियो बनाउन एकता अपरिहार्य भएको बताए।
राप्रपाका महामन्त्री धवलशमशेर राणाले छिन्नभिन्न हुँदा राष्ट्रवादी शक्ति कमजोर बनेकाले पार्टी एकताको आवश्यकता परेको बताए। उनका अनुसार बलियो राष्ट्रवादी शक्तिको निर्माण नै एकताको मुख्य उद्देश्य हो।
२०७८ को महाधिवेशनमा थापाको पराजयको मुख्य कारण सत्ता मोह रहेको आरोप त्यतिबेला नै उठेको थियो। विचार नमिल्ने शक्तिसँग पनि सत्ता समीकरण गर्दा राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डा कमजोर बनेको आरोप उनीमाथि लागेको थियो। थापाले भने आफूलाई निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतामा हराइएको टिप्पणी गर्दै आएका थिए।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जेन–जी आन्दोलनपछिको राजनीतिक अवस्था, कार्यकर्ताको दबाब, फागुन २१ को प्रतिनिधिसभा निर्वाचन र बलियो राष्ट्रवादी शक्तिको आवश्यकता एकताको आधार बनेको बताए।
राप्रपा उपाध्यक्ष ध्रुवबहादुर प्रधानले दुवै पार्टीको नीति, विचार र सिद्धान्त एउटै भएकाले एकता सम्भव भएको बताए। उनले कमल थापा लचिलो भएर पार्टी एकतामा सहमत भएको बताए।
पार्टी एकीकरणका लागि दुवै दलले तीन–तीन सदस्यीय समिति गठन गरेका थिए। ती समितिले गरेको तयारीका आधारमा एकताको वातावरण बनेको नेताहरूले बताएका छन्।
एकतापछि कमल थापा राप्रपामा वरिष्ठ नेताको भूमिकामा रहने र राजेन्द्र लिङ्देन अध्यक्षकै जिम्मेवारीमा रहने सहमति भएको उपाध्यक्ष प्रधानले बताए।
पछिल्लो समय राप्रपाभित्र अध्यक्ष लिङ्देन समूह र महामन्त्री धवलशमशेर राणा समूहबीच तिक्तता बढेको अवस्थामा थापा पार्टीमा फर्किन लागेका हुन्। जेन–जी आन्दोलनपछि राजसंस्था पुनःस्थापनाको पक्षमा जनमत बढ्दै गएको दुवै दलका नेताहरूको बुझाइ छ।
केहीले पूर्वराजा ज्ञानेन्द्र शाहको भारत भ्रमणसँग एकतालाई जोडेर हेरे पनि राप्रपाका नेताहरूले त्यसलाई संयोग मात्र भएको बताएका छन्।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा लिङ्देन नेतृत्वको राप्रपाले सात सिट जित्दा थापा नेतृत्वको राप्रपा नेपालले एक सिट पनि जित्न सकेको थिएन। यही परिणामले पनि थापालाई पुनः राप्रपातर्फ फर्किन बाध्य बनाएको विश्लेषण गरिएको छ।
राजतन्त्रकालदेखि नै राजावादी राजनीतिमा सक्रिय रहेका थापा गणतन्त्र आएपछि पनि राजसंस्था पुनःस्थापनाको पक्षमा उभिँदै आएका छन्। १५ वर्षसम्म राप्रपाको नेतृत्व गरेका थापा अन्ततः आफूले नै आयोजना गरेको महाधिवेशनबाट बाहिरिएका थिए। अब भने फेरि पुरानै दलसँग एक भएर राजावादी राजनीतिलाई बलियो बनाउने रणनीतिमा उनी फर्किएका छन्।









Facebook Comments