
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आज ललितपुरको कुपण्डोलमा वान टू वान वार्ता जारी छ ।
बालेन समूहका सहयोगी कुमार बेनको घरमा वार्ता भईरहेको छ । यसअघि सोही ठाउँमा बालेन र कांग्रेस नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य सुनील शर्माबीच छलफल भएको थियो । आजै मेयर बालेनले ऊर्जामन्त्री कुलमान घिसिङलगायतका व्यक्तिसँग छलफल गरेका थिए ।
यसअघि सोमबार राति पनि रवि र बालेनबीच लामो समय छलफल चलेको थियो । रास्वपा नेता असिम शाहको कमलपोखरीस्थित घरमा भएको छलफलमा वैकल्पिक शक्ति निर्माणका बारेमा छलफल भएको बताइएको थियो ।
एक समाचारस्रोतका अनुसार सोमबारको भेटवार्तामा रविले रास्वपामा बालेन आए आफुले पार्टी सञ्चालन गर्ने र सरकार सञ्चालनको जिम्मेवारी बालेनलाई दिने दुई अफर गरेका थिए । यद्यपि दुईबीचको संवाद सुखद भएको रास्वपाका केही नेताहरुले दावी गर्दै आएका छन् ।
अन्य वैकल्पिक शक्तिहरुलाई पनि साथमा लिएर पुराना राजनीतिक पार्टीहरु कांग्रेस, एमाले, नेकपा लगायतका दलहरुविरुद्ध आगामी चुनावमा जानेबारेमा घनीभूत छलफल भएको छ । रास्वपाका नेताहरुले मेयर बालेनसँग सोमबारदेखि संवादको ढोका खुलेकाले निरन्तर छलफललाई जारी राख्ने बताउँदै आएका छन् ।









Facebook Comments