लन्डनको एमिरेट्स स्टेडियममा भएको अत्यन्तै तनावपूर्ण र रोमाञ्चक खेलमा क्रिस्टल प्यालेसलाई 'सडन डेथ' पेनाल्टी सुटआउटमा ८–७ ले पराजित गर्दै आर्सनल काराबाओ कपको सेमिफाइनलमा पुगेको छ। निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी मार्फत लिइएको थियो, जहाँ आर्सनलका गोलकिपर केपा एरिजाबालागा नायक बने।

खेलको सुरुदेखि नै आर्सनलले मैदानमा आफ्नो वर्चस्व जमाएको थियो। मिकेल आर्टेटाले टोलीमा आठवटा परिवर्तन गरे पनि आर्सनलले ८० प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राखेको थियो। विशेषगरी नोनी मदुइकेले गोल गर्ने आधा दर्जन अवसर पाएका थिए, तर प्यालेसका गोलकिपर वाल्टर बेनिटेजले एकपछि अर्को उत्कृष्ट बचाउ गर्दै आर्सनललाई निराश पारेका थिए। करिब एक वर्षपछि पहिलो पटक सुरुवात गरेका ग्याब्रियल जिससको प्रहारमा पनि बेनिटेज बाधक बने।

ad

खेलको ८०औँ मिनेटमा आर्सनलले पहिलो सफलता हात पार्यो। बुकायो साकाको कर्नरलाई प्यालेसका डिफेन्डरले क्लियर गर्न नसक्दा म्याक्ससे लाक्रोवाको खुट्टामा लागेर बल आफ्नै गोलपोस्टमा छिरेको थियो। आर्सनल जितको नजिक पुगिसकेको अवस्थामा खेलको अन्तिम समयमा नाटकीय मोड आयो। थप गरिएको समयको पाँचौँ मिनेटमा एडम ह्वार्टनको सेट-पिसबाट आएको बललाई जेफरसन लेर्माले हेड गरे र त्यसैलाई मार्क गुएहीले गोलमा परिणत गर्दै प्यालेसलाई १–१ को बराबरीमा ल्याए।

पेनाल्टी सुटआउटमा दुवै टोलीका सात-सात खेलाडीले लगातार गोल गरेपछि खेल 'सडन डेथ' मा पुगेको थियो। आर्सनलका विलियम सालिबाले आफ्नो प्रहारलाई गोलमा परिणत गर्दै टोलीलाई ८-७ को अग्रता दिलाए। लगत्तै प्यालेसका लाक्रोवाको प्रहारलाई गोलकिपर केपाले बचाउ गरेपछि आर्सनलको जित सुनिश्चित भयो। अब आर्सनलले फाइनल प्रवेशका लागि चेल्सीसँग दुई लेगको सेमिफाइनल खेल्नेछ, जसको पहिलो खेल जनवरी १४ मा स्ट्यामफोर्ड ब्रिजमा हुनेछ।