
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुनिश्चितताबारे संशय व्यक्त गरेका छन्।
पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश तल्लो तहसम्म पुर्याउन मंगलबार आयोजित 'भर्चुअल' बैठकमा उनले वर्तमान सरकार गठनको संवैधानिक परीक्षण र सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म निर्वाचन हुनेमा ढुक्क हुन नसकिने बताएका हुन्। पोखरेलले पार्टीका प्रदेश र जिल्ला नेतृत्वलाई सम्बोधन गर्दै यथास्थितिमा चुनाव सुनिश्चित नरहेकोतर्फ सचेत गराए।
महासचिव पोखरेलले हालै सम्पन्न महाधिवेशनले एमाले र समग्र राजनीतिक दलप्रति जनतामा नयाँ विश्वास जगाएको दाबी गरे। पार्टीको आन्तरिक लोकतन्त्र थप सुदृढ भएको उल्लेख गर्दै उनले एमाले र यसको नेतृत्वविरुद्ध पछिल्लो समय विभिन्न शक्तिहरूबाट चौतर्फी षड्यन्त्र भइरहेको आरोप समेत लगाए। यस्ता षड्यन्त्रको कडा प्रतिवाद गर्न र पार्टीको साख जोगाउन उनले कार्यकर्ताहरूलाई उच्च तयारीको अवस्थामा रहन निर्देशन दिएका छन्।
बैठकमा उनले महाधिवेशनले पारित गरेका नीति र आगामी कार्यदिशाबारे जिल्लास्तरका नेताहरूलाई ब्रिफिङ गर्दै पार्टीको संगठन विस्तारमा जुट्न आग्रह गरे।









Facebook Comments