काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा महामन्त्री पदमै लड्ने बताएका छन् । उनले महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर कांग्रेस आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुनुपर्ने बताएका छन् ।

सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरी जेनजी आन्दोलनको भावनाअनुसारको नीति र पार्टीलाई चलायमान बनाएर निर्वाचनमा होमिनुपर्ने बताए ।

ad

कांग्रेसले यही पुस २६ देखि २९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । उनले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु नै जेनजी आन्दोलनको भावना र चाहना भएको बताए ।

कांग्रेसको प्राथमिकता पनि संसद् पुनःस्थापना नभई निर्वाचन नै भएको उनले उल्लेख गरे । उनले निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित वातावरणमा निर्वाचन गराउन सरकारले वातावरण मिलाउनुपर्ने बताए । माग गरे ।

‘महाधिवेशनको तालिका अलि व्यावहारिक भएन, केही तलमाथि होला, तर आमनिर्वाचनअघि महाधिवेशन सम्पन्न गर्नैपर्छ,’ उनले भने ।

पार्टी सभापति शेरबहादुर देउवाले चाँडै नेतृत्व हस्तान्तरण गर्न चाहेको नेता पौडेलले जानकारी दिए । देउवाले पदाधिकारीसहित नेताहरूलाई आगामी महाधिवेशन समयमै गर्न स्पष्ट रुपमा निर्देशन दिइसकेको उनले बताए ।

पार्टीको १५औँ महाधिवेशनमा पनि महामन्त्री पदमै प्रतिस्पर्धा गर्ने पनि उनले जानकारी दिए । १४औँ महाधिवेशनमा आफूले महामन्त्रीमा प्रतिस्पर्धा गर्दा सफलता प्राप्त नभएको उनले बताए ।