
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आवश्यक शान्ति–सुरक्षाको प्रत्याभूति भए आगामी फागुनमा हुने निर्वाचनमा कांग्रेस सहभागी हुन तयार रहेको स्पष्ट गरे।
सन्तनेता कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीका अवसरमा ‘कृष्णप्रसाद भट्टराई केन्द्र’ले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले निष्पक्ष र भयमुक्त वातावरण बिना चुनाव सम्भव नहुने बताए। अहिले पनि हजारौँ कैदीबन्दी कारागारबाहिर रहनु र सयौँ प्रहरीका हतियार लुटिनुजस्ता घटनाले निर्वाचनको विश्वसनीयतामाथि प्रश्न उठाइरहेको उनले भने।
चुनाव जित्नका लागि धाँधली गर्ने छुट कसैलाई नहुने उल्लेख गर्दै उनले प्रहरीको मनोबल उच्च बनाएर शान्ति–सुरक्षाको सुनिश्चितता गर्नुपर्ने बताए। निर्वाचन सम्पन्न गरी मुलुकलाई विकास र समृद्धिको यात्रामा अघि बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको उनले बताए।
डा. कोइरालाले पार्टीभित्रको व्यवस्थापनमा ढिलाइ हुँदा महाधिवेशन प्रभावित हुन सक्ने संकेत गरे। केन्द्रीय कार्यसमितिको निर्णय ढिलो आउनु र क्रियाशील सदस्यता फारम समयमै गाउँगाउँ नपुग्नुले महाधिवेशन केही पछाडि सर्न सक्ने अवस्था आएको उनले बताए। राष्ट्रियता कमजोर बन्दै जाँदा मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै राजनीतिक स्थिरता अहिलेको मुख्य प्राथमिकता भएको उनले बताए।
कार्यक्रममा उनले कांग्रेसका संस्थापक तथा अग्रज नेताहरू विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर राणालगायतका योगदानमाथि गहिरो अध्ययन–अनुसन्धान आवश्यक रहेको बताए। त्यसका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सुशासन र भ्रष्टाचारविरुद्धको मुद्दा आजको जेनजी पुस्ताले पनि खोजिरहेको विषय भएको बताए।
कार्यक्रममा संविधानविद् प्रा. डा. विपिन अधिकारीले कृष्णप्रसाद भट्टराई प्रजातान्त्रिक मूल्यमा अडिग, दूरदर्शी र सिद्धान्तनिष्ठ नेता भएको बताए। ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले किसुनजी सरल र आदर्शवादी व्यक्तित्व भएको बताए र नेपाली राजनीतिमा मूल्य र मान्यताको ह्रास चिन्ताजनक भएको बताए।
सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रका अध्यक्ष लोकेश ढकालले कांग्रेसले किसुनजीजस्ता निष्ठावान् नेताको विचार र आदर्शलाई पर्याप्त रूपमा आत्मसात गर्न नसकेको बताए। कार्यक्रममा ‘किसुनजी प्रेरणादायी प्रसङ्ग’ नामक पुस्तक विमोचन गरिएको जानकारी आयोजकले दिए।









Facebook Comments