
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापाबाट चुनाव लड्ने चाहना व्यक्त गरेका छन्। बालेन निकट एक नेताले ओलीलाई उनकै निर्वाचन क्षेत्रबाट पराजित नगरी चुनाव जितेको अनुभूति नहुने कुरा बालेनले भन्दै आएको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र मेयर बालेन शाहबीच सोमबार राति लामो छलफल भएको छ। पूर्वसांसद असिम शाहको कमलपोखरीस्थित निवासमा करिब छ घन्टासम्म भएको भेटमा राजनीति, आपसी सहकार्य र भविष्यका सम्भावनाबारे छलफल भएको असिम शाहले बताए।
उनले रवि र बालेनबीच अन्तरंग कुराकानी भएको र एकअर्काको सोच, स्वभाव र राजनीतिक दृष्टिकोण बुझ्ने प्रयास भएको जानकारी दिए। भेट गोप्य राख्ने प्रयास भए पनि जानकारी बाहिरिएको उनले बताए।
रास्वपा वृत्तका अनुसार रवि लामिछानेले बालेन शाहलाई भावी नेतृत्वका रूपमा अघि सारेर चुनावी सहकार्य गर्न सकिने संकेत गरेका छन्। लामिछाने कानुनी कारणले सांसद वा कार्यकारी पदमा जान नपाउने अवस्था आएमा बालेनको नेतृत्व स्वीकार्य हुने धारणा पार्टीभित्र रहेको नेताहरूले बताए।
बालेन पक्षका व्यक्तिहरूले भने रवि लामिछानेले मुद्दा जितेको अवस्थामा सहकार्य सम्भव हुने बताएका छन्। बालेन आफैं भने संसदीय चुनाव लड्ने कि काठमाडौं महानगरको कार्यकाल पूरा गर्ने भन्नेमा अझै स्पष्ट नभएको उनका निकटहरूले बताए।
उनले कहिले चुनाव लड्ने र कहिले कार्यकाल पूरा गर्ने कुरा गर्ने गरेको भन्दै अन्तिम निर्णय अझै नभइसकेको बताए। देशका लागि योगदान गर्नुपर्छ भन्ने दबाब बढ्दै गएकाले राजनीतिक यात्रातर्फ उन्मुख भएको देखिएको पनि उनी निकटहरूले बताएका छन्।
बालेनसँगको भेटबारे प्रतिक्रिया दिँदै रवि लामिछानेले तत्काल कुनै सहमति नभएको बताएका छन्। उनले अहिले एकअर्कालाई बुझ्ने चरणमै रहेको र हतार गरेर निष्कर्ष निकाल्न नहुने बताए।









Facebook Comments