काठमाडौं । त्रिशूली जलविद्युत् आयोजनासँग जोडिएको बैंक ग्यारेन्टी विवादमा नबिल बैंकले अन्ततः एक अर्बभन्दा बढी रकम फिर्ता पाएको छ। चिनियाँ बैंकमार्फत जारी काउन्टर ग्यारेन्टी वापत नबिलले १ अर्ब ८ करोड रुपैयाँ बराबरको रकम पुनः प्राप्त गरेको हो।

त्रिशूली थ्री–बी जलविद्युत् आयोजनाको ठेक्का चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुपले पाएको थियो। आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडमा नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको समान ३०–३० प्रतिशत सेयर छ। सम्झौताअनुसार आयोजना तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने थियो, तर तोकिएको समयभित्र काम अघि नबढेपछि २०८० मंसिर ३० गते ठेक्का सम्झौता रद्द गर्दै बैंक ग्यारेन्टी जफत गरिएको थियो।

ad

उक्त ग्यारेन्टी नबिल बैंकमार्फत जारी भएको र त्यसको काउन्टर ग्यारेन्टी चीनको चाइना एभरब्राइट बैंक लिमिटेडले दिएको थियो। ग्यारेन्टी जफत भएपछि नबिल बैंकले हालको विनिमय दरअनुसार करिब ७४ लाख अमेरिकी डलर बराबर, अर्थात् १ अर्ब ८ करोड रुपैयाँ त्रिशूली जलविद्युत् कम्पनीलाई भुक्तानी दिएको थियो।

त्यसपछि नबिल बैंकले सो रकम काउन्टर ग्यारेन्टी जारी गर्ने चाइना एभरब्राइट बैंकसँग माग गरे पनि चिनियाँ बैंकले अदालतमा मुद्दा विचाराधीन रहेको जनाउँदै भुक्तानी अस्वीकार गरेको थियो। यससँगै नबिल बैंकले चीनमै कानुनी प्रक्रिया अघि बढाएको थियो।

चीनको छेन्दु फाइनान्सियल कोर्टले सुइफा–आन्हे ग्रुपको दाबी खारेज गर्दै नबिल बैंकको पक्षमा फैसला सुनायो। त्यसविरुद्ध ठेकेदार कम्पनीले चोङकिङ हाइयर पिपल्स कोर्टमा पुनरावेदन गरे पनि उक्त अदालतले पनि नबिल बैंककै पक्षमा अन्तिम फैसला दिएको थियो।

अदालतको आदेशपछि चाइना एभरब्राइट बैंकले आइतबार नबिल बैंकलाई काउन्टर ग्यारेन्टी वापतको सम्पूर्ण रकम भुक्तानी गरेको नबिल बैंकले जनाएको छ। लामो समयसम्म ‘डुबेको’ मानिएको उक्त रकम फिर्ता आएपछि बैंकको जोखिम व्यवस्थापन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रियामा नेपालका बैंकहरूको क्षमता पुष्टि भएको नबिलको भनाइ छ।